एक हप्ता पहिले मृत्यु भएका श्रेष्ठको समाधिस्थ गरियो

Posted on: 04 Mar, 2016

फागुन २१, पर्वत । एक हप्ता पहिले मृत्यु भएका एक युवकको शतगति शुक्रवार मात्र भएको छ ।

घर नजिकै मृत भेटिएका २२ वर्षे सौरभ श्रेष्ठका शुक्रवार मात्र क्रिश्चियन परम्परा अन्तर्गत समाधिस्थ गरिएको पारिवारिक स्रोतको भनाई छ । कुश्मा नगरपालिकास्थित कालीगण्डकी नदि भन्दा केही माथि गोपाङघाटमा समाधिस्थ गरिएको थियो । मृतकका बाबुले छोराको शवको समाधि आफ्नै जमिनमा गर्ने चाहना राखेको भएपनि गाउँले छिमेकीले अवरोध गरेका थिए ।

उनले बाग्लुङ पोखरा राजमार्ग अन्तर्गत कुश्मा नगरपालिका ११स्थित खरेहा भन्ने स्थानमा रहेका भिरपाखो जमिनमा छोराको समाधि राख्न चाहेका थिए तर पछि गाउँले गाउँनजिकै चिहानघाट बनाउन नहुने भनी विरोध जनाएका थिए ।

मृतक श्रेष्ठको समाधिस्थलमा गाउँले छिमेकी कोही पनि सहभागी नभएको बाबु रामकृष्ण श्रेष्ठले बताए । मृतकका बाबु श्रेष्ठका दाजुभाई सवै गरेर नौ मध्य जीवित रहेका ६ जना कोही पनि अन्त्यष्टि कार्यमा सहभागी भएनन् ।

मृतकका आफन्तले मृत्युको कारण खुलाउन प्रहरीलाई दवाव दिन मृतकको शव बुझेका थिएनन्। मृत्युको कारण भने खुल्न सकेको छैन । अनुसन्धानको क्रममै रहेको प्रहरीको भनाई छ ।

आफ्नो छोराको मृत्यु के कारणले हो भनी चिन्तित बाबु रामकिस्न श्रेष्ठलाई अर्को थप चिन्ता प¥यो । त्यो के हो भने उनी क्रिश्चियन धर्म अनुसरण गर्दै आएका हुन् । दवाव दिन शव नबुझ्दै गर्दा मृतकको परिवार क्रिश्चियन धर्मावलम्वी हुँदा शवको अन्त्यष्टि कहाँ गर्ने समस्या थपियो। थप ढिलाई भयो।

प्रहरीले अरु कुरा नखुल्याई पारिवारीक समस्याका कारण शव नउठेको बताउदै आएकोमा शुक्रवार परिवारले शव उठाएको हो । कुश्मा नगरपालिका -११ खरेहा स्थायी घर भएका २२ वर्षे सौरभ श्रेष्ठको फागुन १४ गते मृत अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयले पनि शवलाई त्रिश्चियन धर्मअनुसार सदगति गर्नुपर्ने भएका कारण कहाँ गर्ने भन्ने बारेमा समस्या सिर्जना भएका कारण शव उठ्न नसकेको स्वीकार गरेको छ ।

घरनजिककै आफ्नै जग्गामा शतिगति गर्न परिवारले खोजेता पनि छिमेकीले नदिएका कारण उनको शव उठ्न नसकेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दिपक पातलीको भनाई थियो । घटनालाई लिएर प्रहरीले दुई युवालाई पक्राउ गरी अनुसन्धान थालेको बताई रहदा उता मृतकका बाबुले भने ड्राईभर र तीन जना युवाहरु विरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको गुनासो गरेका छन्।

घटनाको प्रकृति अनुसार श्रेष्ठलाई हत्या भएको हो वा लागुऔषधको प्रयोगका कारण भएको हो भन्ने प्रश्नमा प्रहरी निरीक्षक पातलीले त्यसबारेमा भन्न आफुले हतार नगर्ने र अनुसन्धानपछि थाहा हुने बताए । अनुसन्धान कहिले सकिन्छ भन्ने प्रश्नमा भने उनले कर्तव्य ज्यान मुद्धा २० बर्षसम्म चल्ने भएका कारण कहिले सकिन्छ त्यो बताउन नसक्ने भनाई राखे ।

उनको जवाफ सुन्दा श्रेष्ठको हत्या हो वा होइन त्यो भने बुझ्नको लागि २० बर्ष कुर्नुपर्ने देखिन्छ । यो अर्थमा पनि प्रहरीले घटनालाई गंभीर ढंगबाट लिएको देखिदैन । प्रहरीले मृतकको साथबाट सानो बोतलको एक शिसा र केही ट्याव्लेट फेला परेको जनाएको थियो ।

उता मृतकका बाबुले आफू अन्यायमा परेको हुँदा मानवअधिकारकर्मी गुहार्ने बताएका छन् । समाधि गर्ने स्थान नपाउदा मृतकको लाशलाई काठमाडौतिर लैजान लागेको तर प्रहरी र स्थानीय निकाय नगरपालिकाले यतै नै व्यवस्था गर्ने भनेपछि रोकेको मृतकका बाबुले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!