पढ्न करिब 3 मिनेट लाग्छ

विमलबहादुर विष्ट । फागुन २२, डोटी । दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको सेतीमा जलयात्रा गर्न दिनहुँ स्थानीयवासी तथा पर्यटक आउने गरेका छन् । शिखर नगरपालिकाको भागेश्वर मन्दिरदेखि दिपायलमा रहेको पुरानो झोलुङ्गे पुलसम्म करीब डेढ घण्टा सेतीमा जलयात्रा गरी रमाउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको आयोजक सस्थाका सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो । जलयात्रा गर्न चाहनेका लागि आयोजकले प्रतिव्यक्ति रु ५०० टिकट दर तोकेको छ ।

दोस्रो दिनदेखि सञ्चालनमा आएको जलयात्रा दिनहुँ यात्रुको चाप बढ्न थालेको चेम्बरका सचिव तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मौसम पनि राम्रो भएकाले र्याफ्टिङ गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।” सेतीमा जलयात्रा गर्दा नदीका तीरमा रहेका मनोहक दृष्य तथा सेतीमा माछा खेलिरहेको दृष्यको अवलोकन गर्न पाइन्छ । नदी क्षेत्रमा बस्ने चराको बासस्थानमा पुग्दा छुट्टै खालको आनन्द आउने जलयात्रु आशिष जोशीले बताउनुभयो । (तस्वीर उपलब्ध छ )

नागरिकको मन जित्दै प्रहरी

जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय स्थानीय नागरिकको मन जित्न थालेको छ । जिल्ला सदरमुकामदेखि यहाँका ग्रामीण क्षेत्रसम्म प्रहरीले जनताका मन जित्ने खालका काम कारवाही गर्दैआएको छ । समुदाय प्रहरी साझेदारी राष्ट्रिय अभियानअन्तर्गत समुदायदेखि विद्यालय क्याम्पस तहसम्म आफ्ना गतिविधिलाई दिनानुदिन बढाइरहेको छ । प्रहरी र नागरिकबीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुगोस् भन्ने हेतुले प्रहरीले नागरिकको घरदैलामा गएर विभिन्न कार्यक्रम तथा काम गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नागरिकका रक्षक हौँ, नागरिकलाई फाइदा हुने काम गर्नु हाम्रो कर्तव्य हो, सोहीअनुरुप हामी लागिरहेका छौँ ।”

प्रहरीले पछिल्लो समयमा जनचेतनामूलक कार्यक्रमका साथै नागरिकलाई सहायता पुगोस् भन्ने हेतुले आफ्नो कामकर्तव्यका साथै कुनै आपराधिक र प्रकोपजन्य घटना तथा कुनै दुर्घटना भइहाले कसरी छिटोभन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी गराउँदै आएको छ । नेपाल प्रहरीले सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय हाताभित्र अवलोकन गराई नेपाल प्रहरीका कामकर्तव्य, विभिन्न शाखामा कार्यरत व्यक्ति र शाखाको कामकर्तव्यबारे जानकारी गराएको छ ।

समाजमा रहेका विकृतिविसङ्गतिको अन्त्य गर्नाका साथै सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरी र हामी मिलेर सभ्य समाज निर्माणमा लागेका छौंँ, सबैले आफ्नो क्षेत्रबाट सहयोग गरे अझ राम्रो हुनेछ ।” डोटी प्रहरीले जिल्लाव्यापी रुपमा जनसम्पर्क बढाउन समय समयमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । डोटीमा मुस्कानसहितको प्रहरी सेवा, टोलटोलमा प्रहरी, समुदायमा प्रहरीलगायत अभियान सञ्चालन गर्दै आइरहेको छ । रासस