पढ्न करिब 3 मिनेट लाग्छ

फागुन २८, पर्वत | गण्डकी प्रदेश सरकारअन्तर्गत सडक निर्माणको पहिलो योजना बजेट अभाव हुँदा अलपत्र पर्ने अवस्थामा पुगेको छ । सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नति गर्ने काम धमामधम भइरहे पनि बजेट अभावमा काम रोकिने अवस्था आएको हो ।

पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार प्रदेश सरकारबाट शुरुमा विनियोजन भएको रु ५० लाख बजेटको काम एक महीना पहिले नै सकिएको छ भने थप बजेट रु ५० लाख विनियोजन हुने आश्वासन पाएका कारण त्यसको पनि काम भइरहेको छ । पहिलोपटक विनियोजन भएको रु ५० लाखले केही काम भएको र पछिल्लोपटक विनियोजित थप रु ५० लाखले अहिले ढलान गर्ने र कालोपत्रका लागि संरचना तयार गर्ने काम भइरहेको कार्यालय प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो ।

करीब एक हजार २०० मिटर लामो सडक पूरा गर्न रु तीन करोड ७५ लाख आवश्यक छ । “अब रु दुई करोड ५० लाख बजेट भएमा सडकमा ढलान र कालोपत्र गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “थप बजेट निकासा हुने आश्वासन पाएमा काम निरन्तर गर्दै योजना पूरा हुन्छ ।”

ट्र्याक खुलेर पनि लामो समयदेखि अलपत्र बनेको उक्त सडकमा दुई÷दुई पटक बजेट विनियोजन भएको र उपभोक्ता समितिको निरन्तरको सक्रियतापछि अहिले चक्ल्याउने र नाली निर्माण गर्ने, आवश्यक ठाउँमा पर्खाल लगाउने, ढलान गर्ने र कालोपत्रको काम सम्पन्न हुन थालेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मेघनाथ सुवेदीले जानकारी दिनुभयो ।

सडकको अनुगमन गर्न आइतबार पुग्नुभएका अघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसँग थप बजेट निकासा गर्न पहल गरिदिन उहाँले आग्रह गर्नुभयो । “गण्डकी प्रदेश सरकारको सडकतर्फको नमूना र पहिलो योजना भएकाले यसमा बजेट अभावमा काम रोकिने अवस्था आउन दिनुहुँदैन”, उहाँले भन्नुभयो, “मन्त्रीज्यूबाट आश्वासन भएमा काम सम्पन्न गर्न सक्छाँै ।”

सडक निरीक्षण गर्दै मन्त्री लम्सालले सडकका लागि थप बजेट विनियोजन गर्न पहल गर्ने आश्वासन दिनुभयो । प्रदेश सरकारले दोस्रो चौमासिकपछि खर्च हुननसकेको बजेट काम भइरहेका योजनामा थप गरिदिने सोच बनाएकाले मोदीवेणी जोड्ने सडकमा पनि त्यसैअनुसार बजेट आउने उहाँको भनाइ थियो । “बजेट अभावमा सडकको काम अलपत्र पर्ने अवस्था आउन नदिने विषयमा हामी सचेत छौँ”, उहाँले भन्नुभयो, “यसका लागि मेरो ठाउँमा सकारात्मक पहल गर्छु ।”

उक्त सडकसँगै मोदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न भएपछि पर्वतको फलेवास नगरपालिका लगायत दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम आउजाउका लागि झण्डै डेढ घण्टा बाटो छोटिने छ । सडक र पुल समयमा सम्पन्न गर्न जनप्रतिनिधि र राजनीतिक क्षेत्रबाट निरन्तर पहल भइरहेको छ । रासस