विमलबहादुर विष्ट | चैत ९, डोटी | बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली पुग्नुभयो । उहाँ स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँका श्रीमान्ले आफू स्थायी बन्ध्याकरण गर्न जिद्धी गर्दै हुनुहुन्थ्यो तर कल्पनाका अगाडि उहाँको जिद्धीले काम गरेन ।

कल्पनालाई स्वास्थ्यकर्मीले पनि सम्झाउन खोजे तर उहाँले कसैले भनेको न मान्नुभयो न त सुन्नु नै भयो । अन्ततः उहाँले श्रीमान्को बन्ध्याकरणको साटो आफ्नै मिनिल्याप गराउनुभयो । श्रीमान्को स्थायी बन्ध्याकरण गरे कमजोर हुन्छ भन्ने विश्वासका कारण यहाँका महिला आफ्ना श्रीमान्को बन्ध्याकरण गराउनुको साटो आफ्नो गर्ने गरेको जोरायल गाउँपालिका–३ का प्रकाश साउदले बताउनुभयो ।

कल्पना त एकपात्र मात्र हुन यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिलाले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाइएको छ । त्यस्तै जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा पनि महिलाले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिई बरु आफ्नै मिनिल्याप गर्ने गरेको जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले बताउनुभयो । “हामीले सञ्चालन गरेका कतिपए भ्याक्सेटोमी क्याम्पमा श्रीमतीले नै श्रीमान्को बन्ध्याकरण गर्न नदिने र आफ्नो गरराउने गरेका छन्”, उहाँले भन्नुभयो, “किन महिलाले यसो गरेका होलान् म त अचम्मित छुँ ।”

नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा नेपाल परिवार नियोजन सङ्घले जिल्लाका १६ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने २१६ मध्ये १६७ महिला छन् । यो सङ्ख्या सेवा लिने कूल सङ्ख्याको ७७ प्रतिशत हुन आउँछ । प्रत्येक स्थानीय तहमा दुई दिन गरी १८ दिनसम्म सञ्चालन भएको उक्त शिविरमा सबैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । उक्त गाउँपालिकामा जम्मा ६० ले मात्रै उक्त सेवा लिएका थिए ।

त्यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० मध्ये २२ महिला, केआइसिंह गाउँपालिकामा ११ मध्ये नौ महिला र शिखर नगरपालिकामा १० मध्ये छ महिलाले स्थायी बन्ध्याकरण गराएको नेपाल परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले बताउनुभयो । स्थायी बन्ध्याकरण सुविधा लिनेमा पूर्वीचौकी गाउँपालिकामा २६ मध्ये २५ महिला, जोरायल गाउँपालिकामा १७ मध्ये १२ महिला र बडीकेदार गाउँपालिकामा २५ मध्ये १७ महिला छन् ।

बोगटान गाउँपालिकामा भने पुरुषको सङ्ख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये नौ पुरुष रहेका छन् । पुरुषले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउने भ्रम महिलामा परेको र यसले गर्दा उनीहरुले श्रीमान्लाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको आफूले बुझेको फुलाराले बताउनुभयो ।

पुरुषले बन्ध्याकरण गर्दा शारीरिक रुपमा कमजोरी नहुने जिल्ला अस्पतालका डाक्टर अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “बन्ध्याकरण गरेकालाई सामान्य ढाड दुख्ने समस्या हुनसक्ने तर अन्य कुनै समस्या हँुदैन ।” डोटीका महिला श्रीमान्माथि बढी निर्भर भएका कारण श्रीमान्लाई केही भई पो हाल्छ की भनेर बन्ध्याकरण गर्न नदिने गरेको डाक्टर अवस्थीको अनुमान छ ।

श्रीमान्लाई बन्ध्याकरण गर्न दिँदैनन् डोटीका महिला
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment