पढ्न करिब 1 मिनेट लाग्छ

चैत २३, गौशाला (रासस) | महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो । अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा राजीवकुमार झाका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, ११६ महिला, तीन तेस्रो लिङ्गी, आठ बालक र ६ बालिका रहेका छन् ।

जिल्ला अस्पताल जलेश्वरमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण तथा परामर्श शाखामा अहिले २१८ जना नियमित रुपमा सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको डा झाले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी १९ जना थपिएका छन् भने विगत १० देखि १५ वर्ष अगाडिदेखि पनि सङ्क्रमित जलेश्वर अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन् ।

जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरु चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान डा झाको छ ।