चैत २९, काठमाडौं | हङकङबाट काठमाडौँ आउंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ३२० विमानलाई होल्डमा राख्दा इन्धन नपुग्ने देखेपछि एयर ट्राफिक कन्ट्रोलले प्रायोरिटी ल्यान्डिङ गरेको छ ।
उक्त विमानलाई आकासमा फन्को लगाउँदा पर्याप्त इन्धन चाहिने भएपछी एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले प्रायोरिटी ल्यान्डिङमा राखेर उक्त विमानलाई अवतरण गर्ने अनुमति गराएका हुन् । बिहीबार बेलुकी उक्त विमानले १ सय ५० यात्रु लिएर काठमाडौँ आउंदै थियो । एयर ट्राफिक जामका कारण बिमान आकासमै केहि समय होल्ड हुनुपर्थ्यो तर उक्त विमानमा त्यो सम्भव भएन । उक्त विमानका चालक दलले नेपालभित्र आईसकेपछि काठमाडौं विमानस्थलको टावरमा रहेका
एटीसीलाई १० मिनेटभन्दा बढी आफूहरू होल्डमा बस्न नसक्ने भन्दै जानकारी गराएपछि एयर ट्राफिक कन्ट्रोलरले अन्य जहाजको सट्टा उक्त जहाजलाइ विमानस्थलमा ल्याण्ड गर्ने अनुमति दिएको थियो ।

पछिल्लो समय धावनमार्ग मर्मत जारी रहेको कारण दैनिक १० घण्टा बिमान स्थल बन्द हुन्छ, जसको कारण १८ यता अधिकांश विमान होल्डमा पर्ने गरेका छन् ।
उक्त विमानमा यात्रुहरुले भरिएका कारण बढी इन्धन नराखिएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उक्त जहाज अवतरण भएपछी चालक दललाई सोधपुछको लागि बोलाएको थियो ।