२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाइसधारा मेलामा भक्तजनको घुइँचो

२०७६, ६ बैशाख शुक्रबार ०८:०४

कृष्णराज गौतम | वैशाख ६, काठमाडौँ (रासस) | प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बालाजुमा लाग्ने ‘बाइसधारा मेला’ आज लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

आजको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था प्रकट गर्ने यस क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि महत्व मानिएकाले यहाँ नुहाउनाले छालासम्बन्धी कुनै पनि रोग नलाग्ने, दुःख, कष्ट हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । 

सत्य युगमा विपश्वी बुद्धले यस पर्वतमा ध्यान बसी कमलको फूल रोपेको जनविश्वास रहेको छ । त्यसैको सम्झनामा चैत शुक्ल पूर्णिमाका दिन भक्तजनले यहाँ स्नान गरी जामाचोस्थित प्राचीन चैत्यमा जल लगेर चढाउने परम्परा छ । महायानी सम्प्रदायका विद्वान् नागार्जुनले यही पर्वतको गुफामा बसेर शाक्यमुनि बुद्धको स्मरणमा तप तथा साधना गरी सिद्धि प्राप्त गरेको पनि बौद्ध अनुयायी विश्वास गर्दछन् । 

यस स्थानलाई नागार्जुन पर्वतसमेत भन्ने गरिन्छ । सो तीर्थस्थलमा स्नान गरी यही जामाचो पर्वतमा मृतकको स्मृतिको बत्ती बाल्ने परम्परा छ । स्थानीय बौद्ध स्तुपमा दिवङ्गत आत्माको मुक्तिका लागि बत्ती बाल्न अघिल्लो दिनदेखि उपत्यकाका विभिन्न स्थानबाट भक्तजन आएका छन् । उक्त तीर्थस्थलमा स्नान गरी स्वयम्भू र नागार्जुन (जामाचो) पर्वतको पनि दर्शन गर्ने परम्परा छ । 

समुन्द्र सतहदेखि दुई हजार १२८ मिटर अग्लो रहेको यस क्षेत्रको अधिकांश भाग हाल शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । यस क्षेत्रमा अनेक खालका वनस्पति पाइन्छ । लामो पदयात्राका लागि राम्रो मानिएको यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बनेको छ ।  

बालाजुस्थित महानगरीय प्रहरी प्रभाग र बाइसधारा मेला व्यवस्थापन मूल समारोह समितिको समन्वयमा भक्तजनको सहजताका लागि सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ । विभिन्न सामाजिक सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था गर्न स्वयंसेवक परिचालन गरेका छन् । 

तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ ढुङ्गेधारा स्थापना गराएको इतिहास पाइन्छ । राजा रणबहादुर शाहले विसं १८५५ मा थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरेपछि यो स्थान बाइसधाराको नामले चिनिन गएको हो । बिगतमा नागार्जुनको डाँडाबाट बालाजु पार्क क्षेत्रमा पानी आउने गर्दथ्यो । काठमाडौँमा पछिल्लो समय बढ्दै गएको जनघनत्व तथा अव्यवस्थित रुपमा भएको शहरीकरण, बस्ती विकास भएकाले अहिले यस क्षेत्रमा पानीको अभाव भएको छ । 

अहिले बाइसधारामध्ये एक धाराबाट मात्र पानी आउने गरेको छ । मेलाको दिन आज सबै धाराबाट पानी आउने व्यवस्था मिलाइएको छ । बालाजुको उक्त क्षेत्रमा स्थानीय भजनमण्डलको अगुवाइमा भजनकीर्तनसमेत भइरहेको देख्न पाइन्छ । 

प्रदेश सांसद वसन्त मानन्धरले पौराणिक साहित्यमा हिमवत् क्षेत्रमा अनगन्ती क्षेत्र तीर्थ, देवस्थल, ऋषिमुनिहरूका आश्रम तथा नदीहरूको चर्चा गरिएको बताउँदै यस क्रममा बालाजुको बाइसधारा एक प्राचीन धार्मिक तीर्थस्थल भएको बताउनुहुन्छ । राजधानीमा अवस्थित बाइसधाराको धार्मिक एवं सांस्कृतिक पक्षको संरक्षणसँगै पर्यटन गन्तव्यको रुपमा विकास गर्न सकिएमा यसको महत्वलाई जीवन्त राख्न सकिने उहाँको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय