जेठ २४, लमही । दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उहाँकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु गर्नुभएको छ ।

बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उहाँले बताउनुभयो । “बुबा ३० वर्षको हुँदा घरबाट हराउनुभएको हो, त्यतिबेला म तीन वर्षको थिएँ रे, अहिले म ७३ वर्ष भइसकेँ”, उहाँले भन्नुभयो, “बुबा हराएको ७० वर्ष भइसक्यो, अहिलेसम्म नफर्केकाले काजकिरिया गर्न लागेका हौँ ।”

पुरोहितसँग सल्लाह गरेर यही जेठ २१ गतेदेखि किरिया गर्न शुरु गरेको र यही जेठ ३२ गतेसम्म किरिया गर्ने उहाँले बताउनुभयो । बुबाको अहिले उमेर १०३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उहाँले जानकारी दिनुभयो । पितृ रिसाउने र कूल बिग्रने धार्मिक मान्यता र संस्कार रहेकाले हिन्दू संस्कारअनुसार काजकिरिया गरिरहेको उहाँले बताउनुभयो ।

June 7, 2019
दाङ्ग - DNG, समाज
दाङ : बेपत्ता भएको ७० वर्षपछि काजकिरिया शुरु
By साझासवाल
2 मिनेट पढाइ