2026-07-09 10:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा हिंसापीडितका लागि सहारा बन्दै ओसिएमसी

2019-07-17

साउन १, नवलपरासी | अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) हिंसापीडित व्यक्तिका लागि सहारा बनेको छ ।

केन्द्रले प्रदान गर्ने निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्शजस्ता सेवाले लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने हुँदा हिंसापीडित व्यक्तिका लागि सहारा बनेको हो । 

पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीमा सञ्चालित सो केन्द्रबाट आव २०७५-७६ मा ४०९ महिला र एक पुरुष गरी कूल ४०० दशजना लैङ्गिक हिंसापीडितले सेवा लिएका छन् । यो अघिल्लो आवको तुलनामा ६ दशमलव ३९ प्रतिशतले बढी हो । आव २०७४-७५ मा ३८३ जना लैङ्गिक हिंसापीडितले केन्द्रबाट सेवा लिएका थिए । तीमध्ये ३८३ महिला र १७ पुरुष रहेका छन् । त्यस्तै, आव २०७३-७४ मा ३५९ जना र आव २०७२-७३ मा २२२ लैङ्गिक हिंसापीडितले सेवा लिएको सो केन्द्रले जनाएको छ । केन्द्रमा सेवा लिन आउनेमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यन्त न्यून देखिएको छ ।  

पछिल्लो एक वर्षको अवधिमा रामग्राम नगरपालिकाबाट २३९, पाल्हिनन्दन गाउँपालिकाबाट ७२, प्रतापपुर गाउँपालिकाबाट २२, सुनवल नगरपालिकाबाट १९, सरावल गाउँपालिकाबाट आठ र बर्दघाट नगरपालिकाबाट एक हिंसापीडित उपचारका लागि आएको केन्द्रले जनाएको छ ।  यसरी उपचारका लागि आउनेमा ३६० जना आफँै, ४८ जना प्रहरी र दुई जना स्थानीय तहमार्फत आएको केन्द्रले जनाएको छ । 

ओसिएमसी कार्यक्रमका सम्पर्क व्यक्ति स्टाफ नर्स रञ्जिता चौधरीका अनुसार ग्रामीण क्षेत्रका पीडित महिलाको यो सेवामा पहुँच बढ्दै गइरहेको छ । केन्द्रमा पाउने उपचार, परामर्श सेवाले न्यायको लागि कानूनी बाटो समात्नसमेत पीडितलाई सहज भएको छ । 

“विगतमा प्रचारप्रसारको कमी थियो, सेवाबारे विश्वास कम थियो, परिवार र समाजको दबाबले पीडित सेवा केन्द्रसम्म आउन सक्ने अवस्था थिएन, पीडितले सत्य बाहिर ल्याउन हिच्किचाउने गर्थे, अहिले चेतना बढेपछि उहाँहरु आउन थाल्नुभएको छ”,उहाँले भन्नुभयो । 

सेवा लिनेमा १९ देखि ४९ वर्ष उमेर समूहका धेरै छन् । यो उमेर समूहका २८६ ले सेवा लिएका छन् भने १८ वर्षमुनिका ७५ र ५० वर्षमाथिका ४९ जना छन् । जातिगत हेर्दा सबैभन्दा बढी मधेशी समुदायका महिला हिंसामा परेका छन् । यो समुदायका १९२ महिलाले सेवा लिएका छन् । त्यसपछि दलित समुदायका १३८, जनजाति ३७ र मुस्लिम २४ छन् । 

घरेलु हिंसा, शारीरिक चोटपटक तथा मानसिक यातना र यौनजन्य हिंसाबाट पीडित महिला बढी मात्रामा केन्द्रमा उपचारका लागि आउने गरेको दाबी चौधरीको छ । पीडितको अवस्था हेर्दा शिक्षित परिवारकै बढी महिला हिंसामा पर्ने गरेको केन्द्रले जनाएको छ । विभिन्न प्रकारको लैङ्गिक हिंसाबाट विशेष गरी महिला तथा बालबालिकामा पर्न जाने शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असरको एकीकृत र प्रभावकारी उपचारका लागि सञ्चालन गरिएको यो केन्द्र पृथ्वीचन्द्र अस्पतालमा विसं २०७० पुस १४ गतेबाट सञ्चालनमा आएको हो । 

यहाँबाट लैङ्गिक हिंसापीडित तथा प्रभावितलाई स्वास्थ्योपचार तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, कानूनी एवं अन्य परामर्श सेवा दिने, आवश्यक सुरक्षाको व्यवस्था मिलाउने, पुनःस्थापना गर्न र लैङ्गिक हिंसाका घटना नियन्त्रणसमेत कार्य हुने गरेको छ । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति (जिसस)का प्रमुख शिवशङ्कर रायले चेतना जागृत हुँदै गएपछि सेवा लिन आउने क्रम बढेको बताउनुभयो । “हिंसा सहेर बस्नु हुँदैन भन्ने चेतना बढेको छ, महिला खुल्न थाल्नुभएको छ, तर हामीले हिंसा नै नहुनेतर्फ ध्यान दिनु आवश्यक छ”, उहाँले भन्नुभयो । 

एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन समन्वय समितिका अध्यक्ष एवं प्रजिअ शम्भुप्रसाद मरासिनीले ग्रामीण क्षेत्रका पीडितसम्म यो सेवाका बारेमा अझै जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । “वडावडामा रहेका जनप्रतिनिधिमार्फत यो सेवाको व्यापक प्रचार गर्न सके थप प्रभावकारी हुने देखिन्छ, पीडकलाई कारवाही र पीडितको पुनस्र्थापना भने अहिले पनि चुनौती नै छ”, उहाँले भन्नुभयो । 

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले कानूनी रुपमा मात्रैभन्दा सामाजिक चेतनाको माध्यमबाट हिंसा अन्त्यको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले ग्रामीण क्षेत्रका महिलाहरु अझै पनि यो सेवाका बारेमा जानकारी नहुँदा पीडा सहेर बस्ने गरेको उल्लेख गर्दै व्यापक प्रचारप्रसार र सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

हिंसामा परी केन्द्रको सम्पर्कमा आउने व्यक्तिलाई आकस्मिकलगायतका सबै सेवा निःशुल्क उपलब्ध गराउने गरिएको छ । हिंसा सहने र लुकाउने कतिपय पीडित ढिलो गरी केन्द्रको सम्पर्कमा आउने गरेका छन् । “केन्द्रको सेवाबारे सबैलाई थाहा होस् भनेर सूचना प्रसारमा पनि जोड दिएका छौँ”, प्रजिअ मरासिनीले भन्नुभयो, “कोही पनि हिंसापीडित सेवाबाट वञ्चित हुने अवस्था नरहोस् भन्नेमा हामी सचेत छौँ ।” 

जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, बाल कल्याण समिति र अस्पतालकै अन्य विभागबाट समेत पीडित ‘ओसिएसी’ को सम्पर्कमा आइपुग्छन् । कतिपय पीडित भने सिधँै ‘ओसिएमसी’ मा आउने गरेका छन् । सरकारको लैङ्गिक हिंसाविरुद्धको कार्य योजना–२०१० का आधारमा स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालमा ‘ओसिएमसी’ सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो