२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा ठेकेदारको बहानाबाजीले पुल बनेन, स्थानीयवासीलाई सास्ती

२०७६, ७ श्रावण मंगलवार ०७:५८

विमलबहादुर  बिष्ट | साउन ७, डोटी |  तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौं लामो यात्रा गर्नुपर्छ । निर्माण कार्य शुरु गरेको वर्षौं बितिसक्दा पनि डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । 

सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नु पर्ने थियो तर, पुलको निर्माण कार्य १० प्रतिशत पनि भएको छैन । सुस्त गतिमा हुँदैआएको निर्माण कार्य पूर्ण रुपमा रोकिएको छ । मूल्य अभिवृद्धि करसहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीव ४०० मिटर लामो उक्त आरसिसी पुलका लागि डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको हो ।

पुल निर्माण हुने समयावधि समाप्त भएर पन्ध्र महिना बितिसक्दा पनि पुलका दायाँ र बायाँ पिल्लर उठाइएको छैन । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक अलपत्र छ । पुल नभएरै उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो –“पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनु ? काटेको सडक गाडी नचल्दा दिनहूँ बिग्रिन र भत्किन थालेको छ ।”

पुल निर्माणमा ढिलाइ हुनाको कारणबारे सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीसँग बुझ्दा पुलको जगमै समस्या भएको जानकारी दिनुभयो । उहाँका अनुसार पिल्लरको जगमा चट्टान भेटिए पछि डिएमसी मेसिनले काम नगरेको र बोर पाइलिङ्ग मेसिन ल्याउनु पर्ने भएका कारण ढिलाइ भएको हो । डिभिजन सडक कार्यालय डोटीले तत्काल काम शुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको इञ्जिनीयर गायीले बताउनुभयो । उहाँले भन्नुभयो –“तत्काल काम शुरु गर्न चेतावनीसहित हामीले निर्माता कम्पनीलाई पत्राचार गरिसकेका छौं । तोकिएको अवधिमा काम शुरु भएन भने आर्थिक कारवाही हुन्छ ।” 

लामो समयदेखि रोकिएको काम आफू साइट इञ्चार्ज भएपछि शुरु गराएको र निर्माता कम्पनीले लापर्वाही गरिरहेकाले काम ढिलो भएको इञ्जिनीयर गायीको भनाइ छ । निर्माता कम्पनी पुष्प राजेन्द्र जेभीका इञ्जिनीयर राजेन्द्र साउदले डिएमसी मेसिन आइसकेकाले अब छिट्टै काम शुरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो –“फाउण्डेशनको काममा मात्रै समस्या देखिएको हो । फाउण्डेसनको काम सकियो भने अरु काम सजिलै सँग बढ्छ ।” 

शुरुमा पुलको अलाइनमेण्ट नमिलेकाले ढिलो भयो भन्दै आएको निर्माण व्यवसायीले पुल निर्माण कार्यमा ढिलो हुँदै गर्दा नयाँ नयाँ बहाना खोज्न थालेको छ । जगमा चट्टान भेटिएको र उक्त चट्टान डिएमसी मेसिनले काट्न नसकेपछि बोर पाइलिङ्ग मेसिन ल्याउनु पर्ने भन्दै केही समय लम्ब्यायो । बोर पाइलिङ्ग मेसिन नेपालमा छैन । फेरि थप समय माग्यो । बोर पाइलिङ्ग मेसिन नेपाल आइसक्यो । अहिले मेसिन ठूलो भएका कारण निर्माण स्थलसम्म ल्याउन समस्या भइरहेको भन्ने सुनिन आएको छ ।

पुल निर्माण व्यवसायी कम्पनीले अबको एक सातामा काम शुरु गर्ला भन्ने कुरामा स्थानीयवासीहरु विश्वस्त हुन सकेका छैनन् । “कहिले के भन्छ कहिले के भन्छ, यिनीहरुका बहाना मात्रै हुन्,” शिखर नगरपालिका वडा नं १० का स्थानीयवासी इन्द्रबहादुर बलायरले भन्नुभयो –“अब काम शुरु भएपछि मात्रै विश्वास लाग्छ, बहाना धेरै भए ।”यस्तै आशङ्का व्यक्त गर्नुहुन्छ शिखर नगरपालिका वडा नं ११ का अर्का स्थानीयवासी शेरबहादुर बोहरा पनि । उहाँ भन्नुहुन्छ –“यो सबै बहाना मात्रै हो । काम शुरु हुन्छ भन्ने त धेरै पटक सुन्यौं तर, काम शुरु कहिल्यै हुँदैन ।” 

पहिलो पटक ठेक्का सम्झौताको अवधि सकिएर २०७५ पुस मसान्तसम्मका लागि बढाइएको थियो । पुनः म्याद थपिए पनि काम शुरु हुनसकेको छैन । यति हुँदा पनि ठेकेदार  कम्पनीलाई कारवाही भने भएको छैन । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भिमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुनुभएको छ । यही कारण सम्बन्धित निकायले कानमा तेल हालेर बसेको स्थानीयवासीको आरोप छ । सातनाली पुल जस्तै सुदूरपश्चिमका अन्य जिल्लाहरुमा पनि उक्त कम्पनीले निर्माण गर्न लागेका योजनाहरु अलपत्र परेका खबरहरु यस अघि पनि आएका थिए । कम्पनीमाथि कुनै कारवाही नहुँदा बाँकी काम लथालिङ्ग बनेको स्थानयवासी बताउँछन् ।

अहिले सेती नदीमा पानीको बहाव बढेका कारण जिल्लाको बानीडुग्रीसैन तथा आदर्श गाउँपालिकाको सातनालीका स्थानीयवासी पुरानो क्षेत्रीय सदरमुकाम दीपायल तथा छिमेकी जिल्ला डडेल्धुराको कोराल खोला भएर जाने आउने गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो