२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा व्यावसायिक साइलेज उत्पादन शुरु

२०७६, ७ श्रावण मंगलवार ०९:१७

साउन ७, पाल्पा  | पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । 

साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ ।

प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाई फार्मको रु २५ लाखको सहकार्यमा साइलेज उत्पादन शुरु गरिएको हो । 

दुई सय रोपनी जग्गा भाडामा लिएर लगाइएको मकैको घाँसबाट साइलेज बनाउन थालिएको छ । साइलेज पशुलाई खुवाएमा दूध उत्पादनमा वृद्धि हुने र पशुको नस्लसुधार हुने हँुदा यसको उत्पादन शुरु गरिएको सञ्चालक रामप्रसाद पोखरेलले बताउनुभयो ।

“सुख्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने गरेकाले उद्योग खडा गरेरै उत्पादन शुरु गरेका हौँ”,उहाँले भन्नुभयो ।

उत्पादित साइलेज पाल्पालगायत विभिन्न स्थानमा बिक्री गर्ने योजना रहेको कामधेनु गाई फार्मका सञ्चालक बेदप्रसाद बञ्जाडे बताउनुभयो । “प्रशस्त जग्गा आवश्यक पर्ने भएकाले रामपुरमा नै आएर उद्योग सञ्चालन गरेका छौँ”,उहाँले भन्नुभयो, “जिल्लालाई मात्र नभई अन्यत्र जिल्लामा पनि पशु आहारा परिपूर्ति गर्ने गरी व्यवसायलाई अगाडि बढाउँदै जानेछौँ ।”

आव २०७५-७६ मा प्रदेश सरकारले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित उत्तम साइलेज उद्योग, देवदह नगरपालिकामा सञ्चालित शुभारम्भ एकीकृत कृषि फार्म र पाल्पाको कामधेनु गाई फार्मलाई रु २५-२५ लाख गरी रु ७५ लाख अनुदान उपलब्ध गराएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं ५ रुपन्देहीका सूचना अधिकारी डा भक्त निउरेले बताउनुभयो ।

“पशु आहारका लागि साइलेजको माग बढ्दो छ, उत्पादन कम भएकाले उद्योगका रुपमा उत्पादनलाई विस्तार गर्न अनुदान सहयोग गरेका हौँ”, सूचना अधिकारी निउरेले भन्नुभयो, “यसको नियमित प्रयोगबाट कृषकले राम्रो आर्थिक लाभ लिन सक्नेछन् ।” 

प्रदेश नं ५ का १२ जिल्लामै साना साना मेशिनबाट साइलेज उत्पादन गरिँदै आए पनि ठूलो उद्योगका रुपमा भने रुपन्देही र पाल्पामा मात्र शुरु भएको उहाँको भनाइ छ ।

दैनिक दुई किलो साइलेज पराल र दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुख्खा मौसममा हरियो घाँसको अभाव हुने हँुदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

 दुई महीनासम्म प्लास्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महीनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । साइलेजको बजार मूल्य अहिले प्रतिकिलो रु १२ मा बिक्री भइरहेको छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी नामक घाँसबाट पनि साइलेज बनाउन सकिन्छ । 

साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हँुदा पछिल्लो समय साइलेजप्रति कृषकहरुको आकर्षण बढ्दो छ । तर माग अनुसार उत्पादन नहुँदा यसलाई पु¥याउन समस्या परेको छ । आमाको दूध खाँदै गरेका बाच्छाबाच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा र गाईभैँसीलाई पनि खुवाउने गरिन्छ ।

रामपुरमा नयाँ प्रविधिका रुपमा साइलेज उत्पादन शुरु भएपछि पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्ने स्थानीयवासी राजेन्द्रप्रसाद लम्सालले बताउनुभयो । कृषिमा भित्रिएको नयाँ प्रविधिले रोजगारी पनि सिर्जना गरेको छ । यस उद्योगमा हाल ४० जनाले रोजगारी पाएको छ भने रु ८० लाख लगानी भएको बताइएको छ । “यस वर्ष चार हजार मेट्रिक टन साइलेज उत्पादन गर्ने लक्ष्य छ”, सञ्चालक बेदप्रसाद बञ्जाडे भन्नुभयो, “पाल्पालाई मात्रै होइन, हामी नेपालका विभिन्न जिल्लासम्म साइलेज गरिएको घाँस बिक्री गर्ने लक्ष्य छ ।” हाल व्यावसायीक फर्मले गर्ने गरेको घाँस खेती, पराल, दाना चापटमा लाग्ने लागतलाई हटाएर न्यून लागतमा दूध उत्पादन गर्न साइलेजले सघाउने दाबी उहाँको छ । “एउटा गाइलाई दैनिक करिव २५ केजी साइलेज आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “किसानलाई दैनिक ५ सय रूपैयाँ खर्च कम हुन्छ, न त घाँस खेती गर्नुप¥यो, न जग्गा भाडामा लिनुप¥यो, न घाँस खेती गर्न कर्मचारी नै चाहियो ।”

साइलेज उत्पादन शुरु गर्न थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गा सदुपयोगमा आउने स्थानीयवासी बुद्धिराज गौतमले बताउनुभयो । यस क्षेत्रमा पहिलो पटक उत्पादन शुरु भएको साइलेज बनाउने प्रविधि अवलोकन गर्न आउनेका कारण यहाँ चहलहपलसमेत बढाएको छ । 

साइलेज भनेको के हो ?

हरियो घाँसलाई खाडलमा खाँदेर अमिल्याई राखिएको (फर्मेण्टेशन) गरिएको घाँसलाई साइलेज भनिन्छ । यो गुन्द्रुक अथवा सिन्की जस्तै गरेर बनाइने हुँदा साइलेजलाई गुन्द्रुक घाँस वा सिन्की घास पनि भन्ने गरिन्छ । वर्षायाममा बढी भएको हरियो घाँसलाई हिउँदमा घाँसको कमी भएको बेलामा पशुहरुलाई खुवाई बढी उत्पादन लिन साइलेज बनाइन्छ । हरियो घाँसमा भएको पशुहरुलाई चाहिने पौष्टिक तत्वहरु साइलेजमा पनि लगभग कायमै रहने भएको हुँदा यो हरियो घाँस जत्तिकै रसिलो र पोषिलो हुन्छ ।

साइलेज बनाउने उपयुक्त घाँसहरु

साइलेज वर्षायाममा प्रशस्त हुने मकै, ज्वार, टियोसेण्टी, बोडी, नेपियर आदि तथा स्थानीय कुनै पनि घाँसबाट बनाउन सकिने भए तापनि प्रोटीन भन्दा कार्बोहाइड्रेट बढी पाइने घाँसहरुबाट साइलेज बनाउन उपयुक्त हुन्छ ।

असल साइलेजमा हुनुपर्ने गुण 

राम्रो खालको साइलेज ढुसी नपरेको मिठो अमिलो वासना आउने हनुपर्छ । राम्रो खालको साइलेजको रंग हरियो पहेंलो मिसिएको हुन्छ । यसमा अम्लियपन ३ दशमलव ८ देखि ५ प्रतिशत सम्म भएको साइलेजलाई राम्रो मानिन्छ ।

साइलेज बनाउँदा उत्पादन हुने विभिन्न अम्लहरुमा ल्याक्टीक अम्लको तुलनामा अन्य अम्लको उत्पादन ज्यादै कम हुनुपर्दछ । अन्य अम्लहरु एसिटिक, प्रोपियोनिक र ब्युटाइरिक एसिड हुन्छन् । व्युटाइरिक एसिड बढी हुनु हुँदैन यसले नराम्रो बासना उत्पादन गर्दछ । साइलेज भिजेमा यस्तो अम्ल उत्पादन हुन्छ ।

साइलेजका लागि घाँस काट्ने उपयुक्त समय

साइलेज बनाउनका लागि घाँस उपयुक्त समयमा काट्नुपर्दछ । यदि घाँसलाई उपयुक्त समयमा काटिएन भने साइलेजको उत्पादन तथा गुणस्तरमा फरक पर्न जान्छ । वर्षायाम तथा हिउँदमा प्रशस्त मात्रामा उत्पादन हुने घासहरुको साइलेज बनाउनका लागि काट्ने उपयुक्त समय मकै, जै, ज्वारमा गेडामा दूध पसेको बेला र टियोसेण्टीमा ५० प्रतिशत बोटमा फूल फुलिसकेपछि र स्थानीय घाँसहरुलाई फूल फल्ने बेलामा काट्न उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने