पढ्न करिब 3 मिनेट लाग्छ

असोज ६, दार्चुला । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माउनुभएको छ । आज बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूति गृह (बर्थिङ सेन्टर) मा बच्चा जन्मिएका हुन् ।

तेस्रो सन्तानको रूपमा गर्भवती बन्नुभएकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताउनुभयो । कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महीना अघि नै तीन बच्चा जन्माउनुभएको हो । यसअघि धामीका एक, छ र अर्को तीन वर्षका छोरी छन् ।

नौगाड सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घटना हो । तीनै छोरीको तौल औसतमा कमी छ । पहिलो पटक जन्मिएकी छोरीको दुई किलोग्राम र दुई छोरीको एक किलो २०० ग्राम मात्र तौल रहेको ठगुन्नाले बताउनुभयो ।

औसतमा बच्चा जन्मिदा दुई दशमलव पाँच किलोग्राम तौल हुने गर्छ । अहिलेसम्म आमा र शिशुको अवस्था सामान्य रहे पनि जोखिम भने रहेको स्वास्थ्यर्कीको भनाइ छ । कम तौल तथा समय अगावै बच्चा पाएका कारण स्वास्थ्य जोखिममा रहेको अनमी ठगुन्नाले बताउनुभयो ।

दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा समस्या भएको अनमी ठगुन्नाले बताउनुभयो । यस्तै अक्सिजन मेसिनसमेत छैन । चौबीसै घण्टा प्रसूति सेवा भए पनि उपकरण अभावमा समस्या भएको उहाँले बताउनुभयो । अहिलेसम्म आमा र शिशुको ज्यान जोगिएको छ, तर थप उपकरण नहुँदा समस्या भएको छ ।

सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको भए पनि परिवारले आर्थिक अभाव देखाउँदै लिएको छैन । महिलाको तल्लो पेट दुख्ने तथा रक्तस्राव नरोकिएका कारण खतरामुक्त नरहेको उहाँले बताउनुभयो ।

“परिवारको आर्थिक अवस्था कमजोर छ, बाहिर लैजान खर्च छैन”, श्रीमान् मानसिंह धामीले भन्नुभयो, “स्वास्थ्यकर्मीले बिहानै बाहिर लैजान भने पनि सकेको छैन, श्रीमती हिँड्न सकेकी छैनन्, केही दिन अघि घर नजिकै लडेकी थिइन् सोही कारण चाँडो बच्चा जन्मिएका हुन् ।”

अहिले सुत्केरी महिला र नवजात शिशुलाई सुविधा सम्पन्न अस्पताल लैजाने तयारी भइरहेको छ । नौगाड गाउँपालिकाका नायब सुब्बा नरेन्द्रसिंह ठगुन्नाले महिला र नवजात शिशुको थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले सुत्केरी महिलालाई एयर एम्बुलेन्समार्फत धनगढी लैजाने प्रक्रिया बढाउनुभएको छ । “दुवैको ज्यान जोगाउन प्रदेशसभा सदस्यहरूले चासो देखाउनुभएको छ”, ठगुन्नाले भन्नुभयो, “अहिले गाउँपालिकाले पत्र तयार गरेको छ । यस्तै प्रहरी चौकी दल्लेखबाट खारमा हेलिकप्टर अवतरण गर्ने मैदानको खोजी भइरहेको छ ।

मङ्गलबार बिहानसम्म दुवैको उद्धार गर्ने तयारी भएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले ढिलो गरी महिला नवजात शिशुको बारेमा जानकारी आएको कारण तयारीमा ढिलाइ भएको बताउनुभयो ।