कालीगण्डकीमा जलयातायात (स्टीमर) संचालन

Posted on: 25 Nov, 2019

पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ। नदीमा पानीको बहाव पनि घट्दै गएकाले  जल यातायात स्टीमर सुचारु भएको हो ।

वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि ठप्प पारिएको स्टिमर सेवा पानीको बहाब कम भएसँगै पुन संचालनमा आएको हो । अहिले नियमित ११ वटा स्टिमरबाट यस क्षेत्रका बासिन्दाहरू ओहोर दोहोर गर्दै आएका छन्। यातायात शुरु भएपछि यस क्षेत्रका बासिन्दाको ४ घण्टाको बाटो आधा घण्टामा छोटिएको छ, ।

जलयातायात सेवा सूचारु भएपछि पर्वत, स्याङजा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरू यातायातको सुविधाबाट लाभान्वित बनेका छन्। खासगरी चाडवाड मनाउन गाउँ आएका फर्किनलाई बढी सहज भएको छ ।

विगत १७ वर्षदेखि व्यावसायिक रूपमा स्टिमर सञ्चालन भएपछि दर्जनौ गाविसका बासिन्दाले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन्। वर्षातको समयमा भने दुर्घटना बढ्ने खतराका कारण ३ महिना अवरुद्ध हुने गरेको छ। 

दक्षिण पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मिसम्म करिब सात किलोमिटरको दूरीमा जलयातायात सञ्चालनमा आएपछि पर्वतका दक्षिणबर्ती साविकका झण्डै डेढ दर्जन गाविसबासी तथा गुल्मी, स्याङ्जा र दक्षिण बागलुङका केही गाविस गरी साविकका ३० भन्दा बढि गाविसबासीलाई सहज रूपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका छन्। यातयातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टीमर सेवा बरदान साबित भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!