पढ्न करिब 3 मिनेट लाग्छ

असार ९, लम्की । सुत्केरी, रक्तअल्पता र सिकलसेलका बिरामीलाई रगत आपूर्ति गर्दै आएको टीकापुरस्थित रक्त सञ्चार केन्द्रमा रगतको माग बढ्न थालेको छ । टीकापुर अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा थप भएपछि रगतको माग बढ्न थालेको हो ।

नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित केन्द्रले महिनामा १०० पिण्ट बढी रगत आपूर्ति गरेको छ । विगतमा सुत्केरीलाई आवश्यक पर्ने रगत आपूर्ति गरिएकामा यतिखेर स्त्रीरोग विशेषज्ञ डा गौरी रिजालले सेवा दिन थालेपछि रगतको माग बढ्न थालेको हो ।

टीकापुर अस्पतालमा दिनहुँ तीनदेखि पाँच शल्यक्रिया हुन थालेका छन् । यसरी अधिकांशलाई रगत आवश्यक पर्ने भएपछि केन्द्रलाई रगत आपूर्ति गर्न धौधौ परेको केन्द्रका संयोजक टेकराज बिनाडीले बताउनुभयो । ‘‘विगतमा भन्दा चार महिनायता रगतको माग बढेको छ, यसको एउटै कारण अस्पतालमा शल्यक्रिया गर्ने संख्या बढेको छ’’, संयोजक बिनाडीले भन्नुभयो,‘‘अब रगत आपूर्ति गर्ने विषयमा रेडक्रसले थप योजना बनाउनुपर्ने देखियो ।’’

विगतमा चार चिकित्सक कार्यरत रहेको अस्पतालमा विशेषज्ञ चिकित्सक एक जना मात्र थिए । हाल विशेषज्ञ चिकित्सक सात र पाँच मेडिकल अधिकृतसहित १२ जना कार्यरत छन् ।

छ महिनादेखि टीकापुरमा रगतको माग बढे पनि रगत आपूर्तिमा भने समस्या हुने गरेको रेडक्रस उपशाखाले जनाएको छ । रगत आपूर्तिका लागि नेपाल रेडक्रस सोसाइटी टीकापुरले संघसंस्था र प्यक्तिलाई हारगुहार गरेर आपूर्ति गर्दै आएको छ ।

चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार दुई सय पिण्ट रगत खपत भइसकेको छ । रगतको माग बढेपछि टीकापुरमा बन्दाबन्दी समयमा दुई सय पिण्ट रगत सङ्कलन भएको छ । बन्दाबन्दीमा बिरामीलाई रगत अभाव हुन थालेपछि स्थानीय युवा र संघसंस्थाले दान गरेका हुन् । अस्पतालमा चाहिने रगत यस क्षेत्रका संघसंस्था र व्यक्तिले दान गर्छन् । रेडक्रसको तथ्यांक हेर्दा टीकापुरमा महिनामा ७० देखि १३० पिण्ट रगत खपत हुने गरेको छ ।

अहिलेसम्म एक हजार दुई सय पिन्ट रगत खपत भए पनि संघसंस्थाबाट ५०७ पिन्ट मात्रै रगत दान भएको छ । बाँकी रगत रेडक्रस, बिरामीका आफन्त र दातालाई गुहारेर आपूर्ति गर्नुपरेको रक्त सञ्चार संयोजक बिनाडीले बताउनुभयो ।

गत वर्ष रेडक्रसले ९०० पिन्ट रगत खपत गरेको थियो । रेडक्रस सोसाइटीले रक्तदान गर्नका लागि नागरिकलाई आह्वान गरे पनि नेगेभिट गु्रपका रगत सञ्चित गर्ने नीति बनाएको छ । नेगेटिभ ग्रुपका रगत जति बेला आवश्यक पर्छ त्यतिबेला दातालाई बोलाएर निकाल्ने गरिएको छ । रेडक्रसले शिक्षक, कर्मचारी र व्यवसायीको रगत पहिचान गरेर दाताको सूची तयार गरेको छ । अहिले पनि समाजमा आफूलाई चाहिए रगतका लागि रेडक्रससँग हारगुहार गर्ने र अरुलाई दिनु परे बहाना गर्ने प्रचलन छ ।

‘‘रगत दान महादान भनेर बुझेका केही युवाले ५७ पटकसम्म रगत दान गरेका छन् भने केहीले यो वा ऊ बहाना बनाएर रगत दिन मान्दैनन्’’, रेडक्रसकर्मी चेतमान केसीले भन्नुभयो, ‘‘रगत आपूर्ति सहज होस् भनेर रेडक्रसले स्थानीय सरकारसँग मिलेर निःशुल्क रगत आपूर्ति गर्न थालेको छ ।

टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका केही वडाले आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रेडक्रससँग सम्झौता गरेका छन् । यसरी सम्झौतानुसार जुन वडाका नागरिकले रगत प्रयोग गरेका छन् त्यसको लागत रकम त्यही वडाले एकमुष्ट तिर्ने गरेका छन् ।

टीकापुर नगरपालिकाले नगरवासीलाई चाहिने रगत र सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क बनाएको छ । यसरी सेवा लिएकाहरुको एकमुष्ट रकम नगरले रेडक्रसलाई बुझाउने गरेको छ । चालु वर्षको अहिलेसम्म सुत्केरीका लागि दुई सय पिन्ट रगत खपत भएको जनाइएको छ भने एम्बुलेन्स सेवा करीब ३०० सुत्केरीले लिएका छन् । रासस