२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा अत्याधुनिक पशु बधशाला बन्ने

३१ असार २०७७, बुधबार १२:०१

भरत केसी । असार ३१, बुटवल । बुटवलमा एक दशक अघि शुरु भएर अलपत्र रहेको पशु बधशालालाई नयाँ स्वरुपमा सञ्चालन गर्न निर्माण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका– १० रामनगरमा केही संरचना निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको बधशालालाई अब अन्तर्राष्ट्रिय मापदण्डअनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन उद्योगको रुपमा निर्माण शुरु गरिएको छ । 

बुटवल उपमहानगरपालिकाको प्राथमिकताका आयोजनामध्येको बुटवल बधशाला एक हो । करिब तीन बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्डसहित उक्त अत्याधुनिक मासु उत्पादन तथा प्रशोधन उद्योग (बधशाला) निर्माण हुने छ ।

यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक बधशाला सञ्चालन हुन नसक्ने ठहर भएपछि बुटवल उपमहानगरपालिकाले उच्चस्तरको प्राविधिक अध्ययनका आधारमा नयाँ मापदण्डको गुरुयोजनासहित निर्माणको काम शुरु भएको हो । उक्त बधशाला रु २२ करोड १३ लाख ३५ हजारको लागतमा बनाउन ठेक्का सम्झौता भएको छ । निर्माण शुरु भएको १८ महिनामा निर्माण सक्ने गरी सम्झौता भएको हो ।

उक्त बधशालाको आज मुख्यमन्त्री शङ्कर पोखरेलले शिलान्यास गर्नुभयो । उहाँले बुटवल उपमहानगरले किसान, व्यवसायी,  सहकारी समेतलाई साझेदारीमा लिएर काम शुरु गरेकाले बधशाला निर्माणलाई प्रदेश सरकारले आवधिक योजनामा समावेश गरेको बताउनुभयो । कृषिका माध्यमबाट प्रदेशको समृद्धिको आधार तय गरिएको बताउँदै मुख्यमन्त्री पोखरेलले पशुपालन र मासुजन्य व्यवसाय एउटा महत्वपूर्ण उद्योगका रुपमा रहेकोले बधशालाले व्यवस्थित बजारिकरणको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले उद्योगलाई आगामी १० वर्ष पछि स्वचालित प्रक्रियाबाट उच्च प्रविधियुक्त बनाउने गरी आधार तयार गर्न सुझाव दिनुभयो । उहाँले स्वचालित प्रक्रियाबाट उद्योग सञ्चालन गर्दा उत्पादित मासुजन्य बस्तुले सिङ्गो देश र विदेशमासमेत बजार बनाउन सकिने बताउनुभयो । 

मुख्यमन्त्री पोखरेलले किसानलाई सदैव उत्पादनका लागि प्रोत्साहित गर्न उत्पादित बस्तुको बजारीकरणको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिमा आम्दानीको सुनिश्चितताका लागि उत्पादन लागत घटाउने, बजारीकरण र उत्पादनमा उपभोक्तालाई विश्वास कायम गर्ने वातावरणका लागि ब्राण्ड कायम गर्न ध्यान जानु जरुरी रहेको बताउनुभयो ।  

त्यसक्रममा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । सार्वजनिक निकाय, किसान, व्यवसायी र उपभोक्ता सबैको साझा सहकार्यबाट बधशाला निर्माणको काम अगाडि बढेको बताउँदै प्रमुख सुवेदीले सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

प्रमुख सुवेदीले सबैलाई स्वच्छ तथा गुणस्तरीय मासु उत्पादन तथा उपभोग गर्नुपर्ने कुरामा सचेत बन्दै बधशाला निर्माणमा बजेटको अभाव हुन नदिने बताउनुभयो । चार ‘पी’ मोडलअनुसार बधशाला सञ्चालन गरिने भएकोले यो परियोजना दिगोरुपमा सञ्चालन हुने कुरामा सबै पक्ष ढुक्क रहन प्रमुख सुवेदीले आग्रह गर्नुभयो । 

प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको बधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेशनलले गरिरहेको छ । बधशालाका लागि पहिलो चरणमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु सात करोड, बुटवल उपमहानगरपालिकाको रु तीन करोड गरी आव २०७६÷७७ मा कूल रु १० करोड बजेट विनियोजन भइसकेको छ ।

क्रमागत रुपमा बहुवर्र्षीय योजनाको रुपमा परियोजना सञ्चालन गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीको भनाइ छ । दैनिक एक हजार खशी, बोका बध गर्न मिल्ने गरी बधशाला बन्ने छ । यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेका लागि प्राथमिक उपचार, सुरक्षा कक्ष, फोहर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंँचा निर्माण गरिने हेफर इन्टरनेशनलका कार्यकारी निर्देशक डा तीर्थ रेग्मीले जानकारी दिनुभयो ।

यहाँबाट निस्किने फोहरलाई प्रशोधन गरेर बायो ग्यास निकालिने छ भने पानीलाई पुनःप्रयोग गर्न मिल्नेगरी प्रशोधन गरिने छ । बधशालामा दैनिक पाँच सय देखि एक हजारसम्म खशी बोकाको बध गर्न सक्ने संरचना तयार गरिने छ । 

बधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी साझेदारीको मोडलबाट सञ्चालन गर्न लागिएको हो । बधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरबीच भएको सम्झौता अनुसार बधशाला निर्माण पश्चात उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले उक्त बधशाला सञ्चालन गर्ने डा रेग्मीले जानकारी दिनुभयो । उपमहानगरको आगामी विधान अधिवेशनमा निर्देशिका र ऐन निर्माण गर्नेगरी तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताउनुभयो । 

बुटवल बधशालामा करिब १२ हजार महिला किसान र ३०० जना मासु व्यवसायी सहभागी हुने हेफरका कार्यकारी निर्देशक डा रेग्मीले बताउनुभयो । उहाँले साना किसानलाई सशक्तीकरण गराउँदै आएको बताउँदै बुटवलसहित कोहलपुर, विराटनगर, भरतपुर र पोखरामा बधशाला निर्माणका लागि हेफरले सहकार्य गरिरहेको बताउनुभयो । 

हालसम्म करिब सात हजारजना उद्यमी महिला र एक सय जना मासु व्यवसायी विभिन्न इन्भेस्टमेन्ट कम्पनीमार्फत सहभागी भएका छन् । परियोजना निर्माण र सञ्चालनका लागि हालसम्म उद्यमी महिला सदस्यबाट करिब रु सात करोड तथा मासु व्यवसायीबाट रु तीन करोड ७८ लाख सङ्कलन गर्ने प्रतिबद्धता आइसकेको हेफरका कार्यक्रम संयोजक अनन्त सिलवालले बताउनुभयो । 

बधशाला दिगो बनाउने पहल 

बुटवलमा सञ्चालन हुने बधशालाका लागि उपमहानगरले पनि दिगो सञ्चालनको मोडलनै तयार पारेको छ । बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म यसैमा साझेदार बनेका छन् । 

रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका २८ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थालाई सङ्गठित गरी तीनवटा इन्भेष्टमेन्ट कम्पनी गठन गरी सकिएको बधशाला सञ्चालन समितिका सहसंयोजक तथा मासु व्यवसायी सङ्घका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । किसान र मासु व्यवसायीका अलग अलग इन्भेष्टमेन्ट कम्पनी निर्माण गरेर उपमहानगरको मातहतमा बधशालामा सहकार्य गरिएको उद्यमी पौडेलको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य