साउन २३, पोखरा । जमुनावर्षा शर्मा सरकारले बन्दाबन्दी खुला गरेसँगै साउन १५ देखि सञ्चालनमा आएका पोखरा लेकसाइडका होटल व्यवसायीमा यतिबेला अन्योल छाएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा र सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा व्यवसायीमा थप अन्योलता छाएको हो । यहाँको पर्यटन व्यवसायी मात्र होइन, सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा उद्योग, कलकारखाना, विद्यालय, कलेज, होटल लगायतका सवै व्यवसायिक प्रतिष्ठानमा अन्यौलता छाएको छ ।

कोरोना सङ्क्रमणको सन्त्रास फैलिएपछि आन्तरिक तथा वाह्य पर्यटक आगमन ठप्प भएका कारण यहाँको पर्यटन व्यवसाय धरासयी भएको छ । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले कोरोनाको जोखिम बढ्दै जाँदा र पर्यटकीय गतिविधि सञ्चालन हुन नसक्दा थप अन्योलता सिर्जना भएको बताउनुभयो । “साउन १५ देखि केही होटल र रेष्टुरेन्ट सञ्चालनमा छन्, आन्तरिक मर्मतसम्भार र आउने सेप्टेम्बर अक्टोबरतिर पूर्वतयारीमा व्यवसायी जुटेका थिए तर अहिलेको बढ्दो जोखिम र सरकारको फितलो तयारीले हामीलाई अन्योल बनाएको छ ।”

उहाँले होटल खोलेर मात्र व्यवसाय सञ्चालन गरेको भनेर बुझ्न नमिल्ने भन्दै अहिले पर्यटनसँग सम्बन्धित अन्य गतिविधि ठप्प हुनुले होटल खोल्नु र बन्द गर्नुमा कुनै भिन्नता नभएको बताउनुभयो । “अहिले पर्यटन गतिविधि केही छैन, न प्याराग्लाइडिङ चलेको छ, न फेवातालमा डुङ्गा चलेको छ, न त पदयात्रा नै सञ्चालनमा भएका छन् । यस्तो अवस्थामा होटल मात्र खोलेर बस्नु भनेको दिन दिन आर्थिक नोक्सान व्यहोर्नुमात्र हो ।” उहाँले लेकसाइडमा करिब १०/१५ प्रतिशत होटल मात्र सञ्चालनमा आएको बताउनुभयो ।

नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय मौसम मानिन्छ । विदेशी पर्यटकको चहलपहल हुने यही समयमा पर्यटन व्यवसायीहरु पर्यटकमै अत्याधिक निर्भर हुने गर्दछन् । तर, यतिबेला विश्वव्यापी रुपमाका फैंलिएको कोरोना भाइरस सङ्क्रमणका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ ।

भदौ १ गतेदेखि सञ्चालन हुने भनिएको अन्तरराष्ट्रिय हवाइ सेवा पनि अहिले अन्योल देखिएको छ । लामा छोटा दूरीका सवारीसाधन पनि चलेका छैनन् । सरकारले हेल्थ प्रोटोकलको स्पष्ट नीति बनाएर कार्यान्वयनका लागि ताकेता गर्न नसकेको सङ्घका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । “सरकार नै अन्योलमा छ, व्यवसायी झनै अन्योलमा छन्”, अन्तरराष्ट्रिय अभ्यास हेरेर अब विकल्प दिनुपर्छ ।”

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलमा कोषाध्यक्ष कृष्ण आचार्यले अहिले पर्यटकीय गतिविधि बन्द भएकाले तत्काल पदयात्रा पर्यटक उभो लाग्ने सम्भावना नभएको बताउनुभयो । “कोरोनाको जोखिम बढ्दो छ, पदयात्रामा गएका पर्यटकमा कथमकदाचित् कोरोना सङ्क्रमण देखियो भने तत्काल उद्धार र व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्टता छैन, रिस्क लिएर व्यवसाय सञ्चालन गर्दा अर्को दुर्घटना निम्तिन सक्छ, तसर्थ अहिले पदयात्रामा जाने पर्यटकलाई टिम्स बेच्न सकिदैन”, आचार्यले भन्नुभयो ।

उहाँका अनुसार हाल गण्डकीमा १५९ ट्रेकिङ कम्पनी रहेका छन् भने लाइसेन्स प्राप्त करिब एक हजार ५०० पदयात्रा मजदूर रहेका छन् । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले नेपालमा पर्यटकको बसाइ झण्डै ११ दिनको हुने गरेको बताउनुभयो । उहाँका अनुसार एक जना पर्यटकले ४५ देखि ५० डलर एक दिनमा खर्च गर्ने गरेका छन् । नेपाल आएका पर्यटकको पोखराको बसाइ भने दुईदेखि तीन दिनको रहने गरेको छ । गत वर्ष ११ लाख ९८ हजार पर्यटक नेपाल आएका थिए भने करिब ५ लाख पर्यटक पोखरा आएको तथ्याङ्क रहेको उहाँको भनाइ छ ।

पोखरामा ७०० होटल, १०० रेस्टुराँ एण्ड बार, १५९ टे«किङ एजेन्सी, १८१ वटा ट्राभल्स, ६८ वटा प्याराग्लाइडिङ, ११५ वटा ट्रेकिङ इक्युपमेन्ट शप, ७५ वटा इम्ब्रोइडरी एण्ड गारमेन्ट शप र ८६ वटा पर्यटक यातायात व्यवसायी रहेका छन् । यस क्षेत्रमा खर्बौंको लगानी छ । पोखराका ७०० होटल तथा रेस्टुराँमा मात्रै १२ हजार १९८ ले रोजगारी पाएका छन् ।

अन्योलमा पोखराका पर्यटन व्यवसायी
Leave a Comment