असोज ६, बागलुङ । ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटकी लक्ष्मी विक अहिले मर्मास्थित मामाघर बस्नुहुन्छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले थातथलो गुमेपछि उहाँको परिवार आफन्तको आश्रयमा पुगेको हो ।

“आमाबुबासँगै हामी पाँच भाइबहिनी मामाघर बसेका छौँ”, विकले भन्नुभयो, “हेर्दाहेर्दै घरजग्गा बाढीले लग्यो ।” सोही ठाउँका भीमबहादुर सुनार छ छोराछोरी र श्रीमतीसहित विद्यालयको कोठामा दैनिकी गुजारिरहनुभएको छ । बाढीले घर, पसल, जायजेथा सबै बगाएपछि सुनार परिवारको उठिबास भएको हो । “अहिले त विद्यालयमा ओत लागेका छौँ, पढाइ खुलेपछि कहाँ जाने ? परिवारको बिचल्ली हुने भयो”, सुनारले भन्नुभयो ।

बाढीबाट विस्थापित लालमती घर्तीको परिवार गोठमा बसेको छ । छ जना एउटै ठाउँमा कोचिएर सुत्नुपर्ने बाध्यता छ । “केही दिन देवरको घरमा बस्यौँ, अहिले भैँसी गोठलाई बारेर बसेका छौँ ।” बाढीले घरको नामोनिशानसमेत मेटेको उहाँले बताउनुभयो । यसरी बाढीमा घरबास गुमाएका परिवार कोही टहरा, कोही विद्यालय, गोठ र छिमेकीका घरमा आश्रित छन् । दाताले दिएको राहतले साँझ–बिहान हातमुख जोडिए पनि बाढी प्रभावितलाई स्थायी बासको पिरलो छ ।

“राहतले छाक त टरेको छ तर बासकै समस्या भयो”, सुनारले भन्नुभयो, “घर बनाउन न पैसा छ, न जग्गा छ, सबथोक गुम्यो ।” सुनारले ‘लाकुँरीबोट किराना पसल’ सञ्चालन गर्दै आउनुभएको थियो । उहाँको पसल, गोदामसमेत बाढीले बगाउँदा झण्डै रु एक करोड बराबरको क्षति भयो । “सरकारले घर बनाइदिने भन्ने सुनिएको छ, नेताहरु आएर पनि बोल्नुभएको छ, खै कहिलेसम्म बन्छ हेरौँ”, उहाँले भन्नुभयो । सानो कुकबाट बाढीले विस्थापित हुनुभएकी दुर्गाकला विकले अब खोलानाला छेउ घर बनाएर बस्न सक्ने स्थिति नरहेको बताउनुभयो ।

“अब जानाजानी यस्तो ठाउँमा बसे त फेरि खोला, बाढी आएर लग्छ, सरकारले जहाँ व्यवस्था गर्छ हामी त्यहीँ बस्छौँ”, उहाँले भन्नुभयो । आफ्नो १० जनाको परिवार रहेकाले लामो समय आफन्तकोमा बस्न पनि अप्ठेरो हुने विकले सुनाउनुभयो ।

सरकार र दाताहरुबाट जतिसक्दो छिटो घर बनाइदिन सके बाढी प्रभावितलाई ठूलो राहत मिल्ने वडा नं ९ का अध्यक्ष हरिबहादुर घर्तीले बताउनुभयो । “व्यक्तिका घरदेखि बाढीमा क्षतिग्रस्त बनेका भौतिक संरचनाको पुनःनिर्माणमा केन्द्रित हुनुपर्छ”, उहाँले भन्नुभयो, “राहतले तत्कालको समस्या टरे पनि दीर्घकालीन व्यवस्थापन गर्न सके मात्र बाढी प्रभावितको पीडा कम गर्न सकिन्छ ।”

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले हिउँद लाग्नासाथ क्षतिग्रस्त घरको पुनःनिर्माण शुरु गरिने बताउनुभयो । “एकीकृत खालको बस्ती बसाउन त्यहाँ सम्भव छैन, व्यक्तिले उपलब्ध गराउने जग्गामा सुरक्षित घर बनाइदिन्छौँ”, उहाँले भन्नुभयो । नगरप्रमुख नेपालीले नयाँ बन्ने सबै घरका छाना आफ्नो व्यक्तिगत लगानीमा जस्ताले छाइदिने प्रतिबद्धता जनाउनुभयो । राहतबाट उठेको रकम घर पुनःनिर्माणमा अपुग भए नगरपालिकाले थप्ने उहाँको भनाइ छ । यस्तै जग्गै नभएका परिवारलाई पनि नगरपालिका र अन्य दाता मिलेर जग्गा व्यवस्थापन गर्ने भएका छन् ।

जग्गा र खेतीपाती अन्यत्रै भएका परिवारहरुलाई एउटै बस्ती बनाएर राख्न अव्यवहारिक हुने जनाइएको छ । कृषि र पशुपालनमा निर्भर त्यहाँका बासिन्दा हिउँदमा बोबाङ र वर्षायाममा ढोरपाटन बस्छन् । दोहोरो बसाइ भएकाले अधिकांशका दुवैतिर घर छन् ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि घर पुनःनिर्माणमा सङ्घ तथा प्रदेश सरकारले सघाउने प्रतिबद्धता जनाउनुभएकाले बाढी प्रभावितमा थप आशा जागेको छ । बाढीले वडा नं ९ का मात्र १०३ घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । यस्तै वडा नं ८ का आठ घर पूर्ण र नौ घरमा आंशिक क्षति छ । बाढीबाट वडा नं ७, ६ र ५ सम्मै प्रभावित छ ।

सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायत सयौँ भौतिक संरचना क्षतिग्रस्त छन् । हजारौँ रोपनी खेतीयोग्य जमिन बगर पल्टेको छ । बाढीले लाँकुरीबोट, दुनेपँधेरा, भुसुण्डे, सुप्राङ, घट्टबोट, चेप्टाजुर, दुवाल, फल्लेघरलगायतका बस्तीमा सबैभन्दा धेरै क्षति पुगेको छ । बाढीमा २२ जनाले ज्यान गुमाए भने १५ अझै बेपत्ता छन् ।

१८ दिनपछि बाढी प्रभावित क्षेत्रमा सञ्चार सुविधा

बलेवा– बाढीपहिरो प्रभावित जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा अवरुद्ध सञ्चार सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आफ्ना रिपिटर टावरहरुमा वैकल्पिक ऊर्जाको व्यवस्था गरेपछि सञ्चार सेवा सञ्चालन भएको हो ।

गत भदौ १७ गते बोबाङमा आएको बाढीपहिरोले स्थानीय लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि ढोरपाटन क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको थियो । सौर्य ऊर्जाको व्यवस्था गरेर सो क्षेत्रमा रहेका रिपिटर टावरहरु सञ्चालनमा ल्याइएको नेपाल टेलिकम शाखा कार्यालय बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो ।

सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणले आफ्ना दुःख सुनाउन र आफन्तको सहानुभूति लिनसमेत नपाएको गुनासो गरेका थिए । ढोरपाटन–८ बोवाङ बिजौरेमा रहेको रिपिटर टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको वरिष्ठ इञ्जीनियर शर्माले बताउनुभयो । सेवा सञ्चालन गर्न नेपाल टेलिकमले पोखराबाट प्राविधिक समूहसहित सोलार सेट पठाएको थियो । बाढीपहिरोको वितण्डापछि तत्काल सोलार पुर्याउन सडकका कारण समस्या थियो ।

सालझण्डी–ढोरपाटन सडक ढोरपाटन नगरपालिकाको पहलमा मर्मत भएपछि सौर्य ऊर्जा टावर रहेको स्थानमा पुर्याइएको हो । सडकदेखि रिपिटर टावरसम्म सोलार तथा मर्मत सामग्री पुर्याउन स्थानीयवासीले सहयोग गरेका थिए भने प्रहरी र जनप्रतिनिधिको समूहसमेत त्यहाँ पुगेको थियो । कोरोना कहर र प्रतिकूल मौसमका बाबजुद जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकम पोखराका इञ्जीनियर कुमोदकुमार महतोले बताउनुभयो ।

बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिङ्क बन्द रहेको थियो । लिङ्क बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मोबाइल सेवा अवरुद्ध रहेको नेपाल टेलिकम पोखराका इञ्जीनियर शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । टेलिकमको नमस्ते मोबाइल सेवा अवरुद्ध हुँदा ढोरपाटन वडा नं ८ र ९ का बासिन्दा सञ्चार सेवाबाट वञ्चित थिए । सोमबारदेखि मोबाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयवासी खुशी भएको ढोरपाटन–९ का वडाध्यक्ष हरिबहादुर घर्तीले बताउनुभयो । रासस

September 22, 2020
बाग्लुङ्ग - BGL, समाज
बागलुङका बाढी प्रभावितलाई बासको पिरलो
By साझासवाल
12 मिनेट पढाइ