अनिल अधिकारी | असोज २४, काठमाडौँ | कोरोना महामारीको बढ्दो लहरले नेपाललाई पनि छोएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकलाई हेर्ने हो भने हरेक १०० जनाको परीक्षण गर्दा २५ जना भन्दा बढी कोरोना संक्रमित भएका छन् ।
कोरोना संक्रमणको बढ्दो ग्राफले नेपालमा कोरोना संक्रमणको अवस्था थप जटिल बाटोतर्फ गईरहेको पुष्टि हुने थुप्रै आधारहरु छन् । जनमानसमा कोरोना केहि होइन भन्ने भ्रम छरिएको अवस्थामा सरकारले समेत कोरोना संक्रमणको अवस्थालाई लिएर जनताले बुझेको बुझाईलाई सहि तरिकाले सूचना सम्प्रेषण गरि सचेत गराउन सकेको छैन । बिभिन्न स्वास्थ्य मापदण्ड भनिएपनि त्यो पालना भएनभएको वेवास्था गरिएको छ ।
आज देशभर १९ हजार ३२० जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये झन्डै २६ प्रतिशत अर्थात ५ हजार ८ जना संक्रमित भेटिएका छन् । २४ घण्टामै भेटिएको यो संख्याको कन्ट्रयाक ट्रेसिङ गर्ने र बाँकीलाई कोरोना फैलाउन नियन्त्रणमा ल्याउने क्षेमता सरकारको छैन । जनता आफै सचेत भएर जोगिनुको बिकल्प नभएको अवस्थामा कतिपय संक्रमितले आफूले भेटेका र सम्पर्कमा आएकाहरुलाई समेत आफूलाई कोरोना लागेको बारे जानकारी दिन हिचकिचाउने वा नभन्ने गरेका छन् । आफूलाई कोरोना लागेको सकेसम्म थाहा नदिने प्रवृतिको विकास भएको कारणले कोरोना महामारीको आगो कहाँ-कहाँ सल्किएको छ भन्ने पत्ता लगाउन समेत हम्मे-हम्मे पर्ने देखिएको छ ।
जारी साताको पहिलो दिन असोज १८ गते सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेकोमा ६ दिनको अन्तरालमा सक्रिय संक्रमितको संख्या सनिबार ३० हजार ८१८ पुगेको छ । यो ६ दिनको आंकडालाई हेर्ने हो भने पनि आगामी दिनको कोरोना संक्रमणको गतिलाई आंकलन गर्न सहज छैन ।
देशभर कोरोना संक्रमितको संख्या एक लाख नाघेर अस्पतालहरूमा आइसोलेसन र आईसीयू बेड अभाव हुन थालिसक्दा पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति र मन्त्रिपरिषद्को ध्यान संक्रमण रोकथाममा केन्द्रित छैन । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सनीबारसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । सक्रिय संक्रमित बढेको बढ्यै छन् । काठमाडौं उपत्यकामै आधा भन्दा बढी संक्रमित भेटिएको अवस्था छ । प्रमुख चाडपर्व नजिकिदै गर्दा मानिसहरु उपत्यका छाडेर जाने क्रम पनि बढ्दै छ । यसले झनै संक्रमणको अवस्थालाई बढावा दिने निश्चित छ ।
अर्को बिडम्बना कोरोना नियन्त्रण गर्न भनि बनेको एउटा संयन्त्र असोज यता निस्क्रिय रहेको सम्बद्ध अधिकारीहरुकै बयान छ । सरकारको नेतृत्व गर्ने पार्टी र प्रतिपक्षी पार्टी कोरोना कम पार्टीमा कार्यकर्ता भित्र्याउने कार्यक्रममा व्यस्त देखिन्छन् । केहि राजनीतिक दलक ठूलै नेताहरु कोरोना हाउगुजी हो भन्दै खुलम खूला हिडिरहेका छन् । अब कोरोनाबाट बच्न सरकारको जोर चल्ने स्थिति छैन । आफै सचेत हुनु जरुरी देखिएको छ ।