४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

१३ कार्तिक २०७७, बिहीबार ०९:३३

कात्तिक १३, बागलुङ | चौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो । हेर्दै अजङ्गका खुकुरी सात फिट अग्ला छन् भने खुँडा र तरवार झण्डै नौ फिट ।

गलकोट नगरपालिकाको कोतघर संरक्षण योजनाअन्तर्गत ऐतिहासिक र सांस्कृतिक महत्वका हातहतियार सङ्ग्रह गरिएको हो । वडा नं. ३ स्थित कोतघर जीर्णोद्धार र संरक्षणलाई नगरले गत आवमा गौरवको योजनामा समेटेको थियो । विधिपूर्वक पूजापाठ गरी हतियार भित्र्याइएको कोतघर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर खत्रीले बताउनुभयो ।

अनुभवी कालिगड मनबहादुर सिर्पालीले हतियार बनाउनुभएको हो । ढोरपाटन नगरपालिकामा विकको ‘बुर्तिबाङ आरन सेवा’ छ । चारवटै हतियार तयार गर्न तीन महिनाभन्दा बढी समय लागेको उहाँले बताउनुभयो । “यति ठूला हतियार बनाएको यो नै पहिलोपटक हो”, कालिगड सिर्पालीले भन्नुभयो ।

यसअघि विकले मेला, महोत्सवमा विक्रीका लागि डुलाउने गरेको रु  एक लाख ११ हजार मूल्य पर्ने ४२ किलोको खुकुरीले निकै चर्चा पाएको थियो । रु चार लाख ६५ हजारमा सबै हतियार कोतघर व्यवस्थापन समितिलाई उपलब्ध गराएको कालिगड सिर्पालीले बताउनुभयो । हतियार बनाउँदा विकसहित अरू सहयोगी पनि खटेका थिए ।

वडाध्यक्ष वीरजङ्ग भण्डारीले ऐतिहासिक कोतघरको महिमा झल्काउन प्रतिकात्मक रुपमा पुरानै स्वरुपका हतियार बनाएर राखिएको बताउनुभयो । “भावी पुस्ताले पनि कोतघरको महत्वबारे बुझोस्, गरिमा थप बढोस् भन्ने उद्देश्य हो”, उहाँले भन्नुभयो । कोतघरमा पुरानै भाला, खुँडा, खुकुरीलगायतका हातहतियार पनि छन् ।

कोतघरको वृहत्तर विकास गरी आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ । हालै विधिवत रुपमा कोतघर व्यवस्थापन समिति दर्ता गरी जीर्णोद्वारको कामलाई गति दिइएको वडाध्यक्ष भण्डारीको भनाइ छ । कोतघरका लागि नगरको रु ५० लाख बजेट छ । पुरातात्विक महत्व झल्कने गरी कोतघरको बृहत् जीर्णोद्वार गरिने छ ।

त्यसका लागि गुरुयोजना निर्माणको काम अगाडि बढेको जनाइएको छ । जग्गा व्यवस्थापन, घेराबारलगायत पूर्वाधार तयारीको काम सकिएको छ । कोतघरले झण्डै सात रोपनी सार्वजनिक जग्गा चर्चेको छ । संरचना बनाउँदा अपुग हुने जग्गा किनेरै भए पनि थप्ने योजना छ । 

कोतघरसँगै रहेका इष्टदेवी र भगवतीको मन्दिरसमेत जीर्णोद्वार गरिने छ । तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । उक्त कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए ।

गलकोट राज्यका पहिलो राजा जितारी मल्लले कोतघर निर्माण गरेका थिए । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भएको छ । कोतघरका झ्याल, ढोका भने पुरानै छन् । जीर्णोद्धार गर्दा मौलिकता जोगाउनुपर्ने चुनौती छ । मन्दिरमा अहिले पनि बडादशैँ र चैतेदशैँमा विशेष पूजा हुन्छ । 

चैत्राष्टमीमा त कोतघरमा मेलै लाग्छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गेरैले कोतघर जिल्लाकै ऐतिहासिक धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले कोतघरको विकासमा जस्तो सुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । 

विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको इतिहासमा उल्लेख छ । गोलो पहाडको टाकुरामा दरबार तथा कोतघर निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंस हुँदै पछि गलकोट भएको बताइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ