२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

लकडाउनपछि बालविवाह बढ्यो

२०७७, २ मंसिर मंगलवार ०४:०४

मङ्सिर २, कैलाली | कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन् । छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनी म्यासेज गरे । “म्यासेज गरेपछि छोरीले विवाह गरिसकेको सन्देश पठाइन्”, बालिकाकी आमा दिव्या शर्माले भन्नुभयो, “मैले घर फर्काएर ल्याउँ भनेँ तर श्रीमान् र घरका अन्य सदस्यले मानेनन् । इज्जत फालिसकेकी छोरी ल्याउनु हुन्न भने ।”

लामो समय विद्यालय बन्द भएपछि छोरीले विवाह गरेको दिव्याको भनाइ छ । ‘‘१० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ”, दिव्याले भन्नुभयो, “त्यही मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछन्, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिछ ।”

कोरोना महामारीका कारण धेरैजसो विद्यालय गएको चैतदेखि नै बन्द छन् । केही विद्यालयले अनलाइन कक्षा शुरु गरे पनि अधिकांश विद्यालयको पढाइ नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । यसबीचमा विद्यालय जाने उमेरका बालबालिकाको विवाह अघिल्लो वर्षको भन्दा दोब्बरले बढेको प्रहरीको तथ्याङ्क छ ।

कैलालीको टीकापुर नगरपालिकाको बटनपुरस्थित त्रिभुवन माविका शिक्षक आशा कठरिया बालविवाह बढिरहेको बताउनुहुन्छ । “लकडाउनपछि बालविवाह बढेको छ । बालविवाह गरेका धेरै किशोरी गर्भवती भएकाले उनीहरुको पढाइमा बाधा पुग्छ”, कठरिया भन्नुहुन्छ, “हाम्रै विद्यालयमा हरेक वर्ष कम उमेरमै विवाह गरेका कम्तीमा पाँच जनाले विद्यालय छाड्छन् ।” गत चैतबाट विद्यालय बन्द भएपछि कम उमेरमा विवाह गर्ने विद्यार्थी अझ बढेको हुनसक्ने चिन्ता उहाँलाई छ । “हामीले विद्यालयको कक्षामा बालविवाहबारे धेरै छलफल गर्छौँ, बालविवाहका असरबारे सचेत गराइन्छ”, कठरिया भन्नुहुन्छ, “तर पनि बालविवाह रोक्न सकिएको छैन ।”

अभिभावक रामफल चौधरी अभिभावककै कमजोरीका कारण पनि उमेर नपुग्दै विवाह बढिरहेको बताउनुहुन्छ  । “बालविवाह गरेका जोडीलाई समाजले स्वीकार गरिरहेको छ । छोराले गरिहाल्यो वा छोरी गइहाली भनेर समाजले स्वीकारेपछि उजुरी पर्दैन”, रामफल भन्नुहुन्छ, “गरिबीका कारण पनि बालविवाह रोक्न सकिएको छैन । छोरी जवान भए जिम्मेवारी उठाउन डराएर विवाह गरिदिने अभिभावक पनि छन् ।”

नेपाल प्रहरीका अनुसार पोहोरभन्दा यस वर्ष बालविवाह दोब्बर बढेको छ । पोहोर आर्थिक वर्षको पहिलो तीन महिनामा देशभरि १२ वटा मात्रै बालविवाह भएको थियो भने यस वर्षको पहिलो तीन महिनामा २६ वटा भएको छ । सामान्यतः बालविवाहको उजुरी नआउने हुनाले यो सङ्ख्या अझ धेरै हुनसक्ने प्रहरीको भनाइ छ । कैलाली जिल्लामा अघिल्ला दुई वर्ष एक÷एकवटा बालविवाहको उजुरी दर्ता भएकामा यस वर्षको तीन महिनामा दुई घटना दर्ता भएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले यस वर्षको तीन महिनामा बालविवाहसम्बन्धी एउटा मुद्दा चलाइसकेको छ । “एउटा विवाहमण्डपमै गएर रोकेको र तीन बालबालिकालाई सम्झाएर अभिभावकको जिम्मा लगाएका छौँ । यसले पनि बालविवाह दोब्बरले बढेको देखाउँछ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने भन्नुहुन्छ, “बालविवाह उजुरी हामीसम्म पुग्दैनन्, हामीले थाहा पाएर गए पनि अभिभावकले उमेर पुगिसक्यो भनेर झुक्याउने चलन अहिले पनि छ ।”

बालविवाहलाई समाजले परम्पराका नाममा स्वीकारिरहेको देखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । प्रहरीकै कुरालाई आधार मान्ने हो भने पनि उमेर नपुग्दै हुने विवाहलाई समाजले मान्यता दिइरहेको देखिएको बालकल्याण सङ्घका नयनतारा श्रेष्ठ बताउनुहुन्छ । “कम उमेरमा हुने विवाहले हुने असर कम गर्न विवाह नै गर्न र गराउन दिनुहुँदैन”, श्रेष्ठ भन्नुहुन्छ, “यसका  लागि सबैभन्दा पहिला अभिभावक र समाज सचेत बन्न आवश्यक छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी