पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर २०, तनहुँ | तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो ।

गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । “सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा खरिद गर्न सहयोग होस् भनेर चालु आवको नीति तथा कार्यक्रममा नै यसलाई समेटेका थियाँै, सोही बमोजिम ३० जना सुत्केरीलाई प्रोत्साहन रकम वितरण गरेका छाँै,” रानाले भन्नुभयो ।

म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले विभिन्न वडाका ३० महिलाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । घरमा हुने सुत्केरीलाई शुन्यमा लैजाने गाउँपालिकाको उद्देश्य रहेको घिमिरेले बताउनुभयो । “अझै पनि धेरै महिलाहरुले घरमै सुत्केरी गराउने गरेका छन्, यसले जोखिम बढाउँछ,” उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा सुत्केरी गराए सुरक्षित हुने भएकाले यसबारेमा पनि सचेत गराएका छौँ ।”

यसैबीच म्याग्दे गाउँपालिका–२ मा कोभिड अस्पताल सञ्चालनमा आएको छ । हालै मात्र निर्माण सम्पन्न भएको जामुने स्वास्थ्यचौकीको भवनलाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको करिब रु दुई करोडको लगानीमा भवन निर्माण गरिएको थियो । भवनमा कोभिड अस्पताल सञ्चालनका लागि सरकारले रु १० लाख उपलब्ध गराएको छ । रासस