पढ्न करिब 4 मिनेट लाग्छ

चैत १३, तनहुँ। तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रेको तयारी गरिएको छ । गत वर्षबाट निर्माण शुरु भएको छिम्केश्वरी सडकमा आगामी वैशाखदेखि कालोपत्रेको तयारी गरिएको हो । हाल उक्त सडकमा नाला निर्माण तीव्र पारिएको जिल्ला पूर्वाधार कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । “सडक फराकिलो बनाउने काम र नाला निर्माणको काम सँगसँगै अगाडि बढिरहेको छ”, ढुङ्गानाले भन्नुभयो, “वैशाखदेखि कालोपत्रे शुरु गर्ने तयारी गरिएको छ ।”

उहाँका अनुसार उक्त सडकखण्डको ६५ प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै वित्तीय प्रगति ५२ प्रतिशत छ । कूल १६ किमी सडक कालोपत्रेका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र सङ्घबाट समपुरक कोषअन्तर्गत रु आठ करोड ४७ लाख बजेट विनियोजन भएको छ । “यो बजेटले १२ किलोमिटर दूरी कालोपत्रे हुनेछ”, उहाँले भन्नुभयो ।

विसं २०७६ मङ्सिर ६ गते सम्झौता भएको उक्त सडकको म्याद विसं २०७८ फागुन १३ गतेसम्म छ । त्यसका लागि काठमाडाँैस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकखण्डको साढे दुई किलोमिटर दूरीमा जङ्गल पर्ने भएकाले कालोपत्रेका लागि समस्या भएको छ । “जङ्गलले गर्दा साढे दुई किमि समस्या भएको छ, निर्देशनालयले आइइका लागि प्रकृया शुरु गरिसकेको छ”, उहाँले भन्नुभयो, “आइइको प्रतिवेदन आएपछि उक्त खण्डको काम शुरु हुन्छ ।”

निर्माण कम्पनीले स्थानीय तहबाट स्वीकृत लिएर सोही ठाउँमा अस्थायी क्रसर राखेर काम गरिरहेको छ । म्यादभन्दा ६ महिना पहिला काम सम्पन्न गरे बोनस प्राप्त हुने भएकाले निर्माण कम्पनीले सोही बमोजिम कामलाई तीव्र दिएको ढुङ्गानाले बताउनुभयो ।

छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्रे भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा अझ वृद्धि हुने विश्वास छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सडक कच्ची हुँदा पनि छिम्केश्वरीमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेकामा सडक कालोपत्रेपछि भक्तजनको सङ्ख्या थप वृद्धि हुनेछ ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुन्द्र सतहबाट दुई हजार १३४ मिटरको उचाइमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुनःनिर्माण पनि गरिरहेको छ । छिम्केश्वरी डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि गत आवमा रु ३० लाख लगानी गरेको थियो भने चालू आवमा रु १५ लाख बजेट विनियोजन गरेको छ ।

छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आव २०७५÷७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आव २०७६÷७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भएको छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास सञ्चालनमा छ । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरबास सञ्चालन गर्दै आएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो । हिलेखर्कमा रहेको दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

त्यस्तै लाब्दीगाउँमा पनि घरबास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरबास व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लाको १३ घरमा घरबास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिनुभयो । घरबास सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भए पनि कोभिडको प्रभावका कारण उक्त कार्य रोकिएको थियो ।रासस