रामबहादुर थापा/साउन २५, बागलुङ । जीवनको उर्वरकाल प्रदेशमा बिताएर फर्केका भूतपूर्व भारतीय सैनिकको काँधमा अहिले पूरै गाउँको अभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामबहादुर थापा/साउन २५, बागलुङ । जीवनको उर्वरकाल प्रदेशमा बिताएर फर्केका भूतपूर्व भारतीय सैनिकको काँधमा अहिले पूरै गाउँको अभि"/>
२१ मंसिर २०८२, शनिबार
बाग्लुङ्ग - BGL

युवाविहीन गाउँको नेतृत्व भूपू सैनिकको काँधमा

२५ श्रावण २०७३, मंगलवार १०:५७

रामबहादुर थापा/साउन २५, बागलुङ । जीवनको उर्वरकाल प्रदेशमा बिताएर फर्केका भूतपूर्व भारतीय सैनिकको काँधमा अहिले पूरै गाउँको अभिभारा छ । युवा पलायनले गाउँ रित्तिरहेका बेला भूपुहरुले नेतृत्व सम्हालेका छन् । 

राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा भूपु सैनिकको अगुवाइ छ । आरामपूर्वक बिताउनुपर्ने सेवानिवृत्त जीवनकाल उनीहरुका लागि बेफुर्सदिलो बनेको छ । बुढ्यौली लाग्दासम्म भूपुहरु सामाजिक सेवाका काममा उत्तिकै क्रियाशील छन् । 

गाउँको आर्थिक–सामाजिक व्यवस्थालाई चलायमान उनै भूपुहरुले बनाएका छन् । वृद्धवृद्धा, स–साना बालबालिका, केही शिक्षक र सामाजिक कार्यकता मात्र भेटिने गाउँमा भूपुहरुले केही आशाका किरण छरेका छन् । बागलुङ बढी वैदेशिक रोजगारीमा जानेहरुको जिल्लामा अग्रस्थानमा पर्छ । देशमै सबै भन्दा बढी विप्रेषण भित्रने जिल्ला पनि बागलुङ हो । त्यसमा पनि जिल्लाको गलकोट भेगको नाम पहिले आउँछ । 

सोही भेगमा पर्ने मल्म गाविसका धेरै युवा भारतीय सेनामा कार्यरत छन् । प्रत्येक जसो घरमा सेवा निवृत्त भएका भूपु सैनिक पनि छन् । हबल्दारदेखि सुवेदारसम्मको पद हासिल गरेर फर्केका भूपुहरुले अहिले गाउँका सामाजिक सङ्घ संस्था हाँकेका छन्, राजनीतिक दलको नेतृत्व गरेका छन् र गाउँ विकासको योजना निर्माण गरेका छन् । बसाइँसराइ, विदेश पलायन, सुख–ऐश्वर्यको खोजी जस्ता कारणले सुनसान बन्दै गएको गाउँलाई भूपुहरुले प्राण भरेका छन् । गाउँमा गाह्रो–समस्या पर्दा अघि सर्ने उनै भूपुहरु नै हुन् । 

चौबीस वर्ष भारतीय सेनामा काम गरेर फर्कनुभएका मल्म–८ का ज्ञानबहादुर थापाले अहिलेसम्म एक दर्जन भन्दा बढी संस्थाको नेतृत्व तहमा बसेर काम गरिसक्नु भएको छ । हाल उहाँ वडा नागरिक मञ्च, जनहित कला केन्द्र, जनहित शिक्षा कोष, गोंदीघाट निर्माण समितिलगायतका संस्थामा संयोजक÷उपाध्यक्ष पदमा हुनुहुन्छ । केही वर्षअघि उहाँ तत्कालीन एनेकपा (माओवादी) मल्मको सेक्रेटरीसमेत हुनुहुन्थ्यो । थापाले घुम्टे सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको समेत अध्यक्ष भएर काम गरिसक्नुभएको छ । 

‘कति संस्थामा बसेर काम गरें, एकिन नै छैन,’ थापाले भन्नुभयो – ‘भारतीय सेनाको जागिरबाट निस्केपछिको अधिकांश समय सामाजिक काममै बितेको छ ।’ थापाले समाज सेवा गर्ने आफ्नो सानैदेखिको रुचि भएको उल्लेख गर्नुभयो । थापा २४ वर्ष भारतीय सेनामा सेवा गरेर १५ वर्षअघि स्वदेश फर्कनुभएको थियो । 

अट्ठाइस वर्ष भारतीय सेनामा काम गरेर सुवेदार पदमा १२ वर्षअघि सेवा निवृत्त हुनुभएका मल्म–७ का ६१ वर्षीय टीकाबहादुर थापा पनि मल्मको सामाजिक अगुवा हुनुहुन्छ । उहाँको सामाजिक प्रतिष्ठा पनि उच्च छ । घर फर्केलगत्तै स्थानीय जनहित माध्यमिक विद्यालयको अध्यक्ष पद सम्हाल्नु भएका थापाले ९ वर्षसम्म विद्यालयको नेतृत्व गर्नुभयो । 

भूपू सैनिक कल्याण सङ्घको केन्द्रीय सदस्य र मल्मको अध्यक्ष रहुनभएका थापाले विभिन्न सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष भएर समेत काम गरिसक्नुभएको छ । उहाँ सातसय बगाले थापा समाज मल्मको अध्यक्ष समेत भइसक्नुभएको छ । 

हाल उहाँ नागरिक वडामञ्च मल्म– ७ को संयोजक समेत हुनुहुन्छ । यस बाहेक अन्य विभिन्न सङ्घ संस्थामा उहाँ नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । ‘विदेश पलायनले गाउँ खाली हुँदै गएको छ, सबै सुख–सुविधातिर लागेका छन्,’ थापाले भन्नुभयो – ‘भूपूहरुले गाउँ धानेको अवस्था छ, सबैतिरको नेतृत्वमा भूपूहरु आएका छन् ।’ उहाँका अनुसार मल्मका प्रमुख सबै दलहरुको नेतृत्वमा समेत भूपूहरु नै छन् । नेकपा (एमाले)को अध्यक्षमा मल्म– ९ का भारतीय सेनाबाट सेवा निवृत्त होमबहादुर बस्नेत हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) मल्मको इन्चार्जमा मल्म– ७ का भूपू छुमबहादुर थापा रहनुभएको छ । राष्ट्रिय जनमोर्चाको मल्म ग्राम कमिटी अध्यक्षमा मल्म– ७ कै भूपू भारतीय सैनिक दलबहादुर थापा रहनुभएको छ । दलका समितिमा रहने पदाधिकारी, सदस्यमा पनि अधिकांश भूपूहरुकै संलग्नता छ । राजनीतिक दल, विद्यालय, सामाजिक संस्था, वन, कृषि समूह, उपभोक्ता समिति, विकास योजना लगायतमा भूपूहरुकै नेतृत्व छ । 

चौबीस वर्ष भारतीय सेनाको जागिर खाएर फर्कनुभएका मल्म– ७ का ५२ वर्षीय लोकबहादुर थापाको अनुभव पनि उस्तै छ । गाउँ फर्केपछि जिल्लाकै पुराना मध्येमा पर्ने घुम्टे युवा परिवारको दुई कार्यकाल अध्यक्ष समेत भइसक्नुभएका थापाको दैनिकी पनि सामाजिक काम मै बित्ने गरेको छ । ‘कहिलेकाहीं त दिनमै आठ÷दसवटा बैठकमा जानुपर्छ, सामाजिक काममा अग्रसर नबनी सुखै छैन, गाउँमा भूपूहरुबाहेक कोही पनि छैनन्,’ थापाले भन्नुभयो – ‘युवाको विदेश मोहले आज गाउँ यसरी नेतृत्व विहीनको अवस्थामा पुगेको छ । ढल्कँदो उमेरका भूपूहरुले गाउँको सेवा गर्नुपर्ने अवस्था छ ।’ 

थापा अहिले घुम्टे प्रगति कृषि समूहको अध्यक्ष, क्षेत्री समाज बागलुङको उपाध्यक्ष, लाम्दारा सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्षमा रहेर काम गरिरहनुभएको छ । घरको भन्दा सामाजिक काममा बढी समय दिनुपर्दा कहिलेकाहीं परिवारसँग तिक्तता बढ्ने गरेको अनुभव पनि भूपूहरुसँग छ । नेकपा (माओवादी केन्द्र) मल्मका इन्चार्ज छुमबहादुर थापाले भन्नुभयो – ‘पार्टीको, समाजको कामले कहिलेकाहीं हप्तौंसम्म घर छोड्नुपर्ने अवस्था पनि आउँछ ।’ जसोतसो परिवारको व्यवस्थापन गरेर सामाजिक सेवामा आफू तल्लीन रहेको थापाले बताउनुभयो । कतिपय ठाउँका भूपूहरु सहरी क्षेत्रमा बसाइँसराइ गरी आरामको जीवन बिताइरहे पनि मल्मका भूपूहरुमा भने त्यो लागू छैन । 

मल्म– ७ का ६१ वर्षीय सुवेदार टीकाबहादुर थापाले प्राण रहुञ्जेल गाउँको सेवामा समर्पित हुने बताउनुभयो । 

बसाइँसराइ, सुखको खोजी, विदेश मोह जस्ता कारणले गाउँप्रति नयाँ पुस्ताको विकर्षण बढेको उहाँको भनाइ छ । ‘मल्ममा जापान जाने लहर नै छ, सयाँैं घरपरिवारका सदस्य जापान छन्,’ थापाले भन्नुभयो – ‘छ, आठ महिनाको शिशुलाई समेत छाडेर विदेश जाने प्रवृत्ति बढेको छ, यो डरलाग्दो छ ।’ गाउँमा नेतृत्व गर्ने, आर्थिक–सामाजिक विकासमा अग्रसरता लिने युवा र शिक्षित पुस्ता पलायन हुँदै गएको उहाँको भनाइ छ । 

एउटा सङ्क्रमणमा गुज्रेजस्तो देखिने गाउँलाई नेतृत्व गर्ने भूपूहरुको योगदान अति महत्वपूर्ण रहेको मल्म घर भई हाल धवलागिरि बहुमुखी क्याम्पसमा सह–प्राध्यापक रहनुभएका डा दिनबहादुर थापाले बताउनुभयो । 

भूपूहरुबाट अनुशासन, व्यवस्थापन र नेतृत्व कौशल नयाँ पिँढीले सिक्नुपर्ने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य