२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लीलाई तीन महिनापछि बल्ल चार किलो चामल !

३० पुष २०७८, शुक्रबार ११:२२

पुस ३०, सिमकोट | नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । आजदेखि सुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको छ । 

समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित बनेका हुन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले तीन महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको बताइएको छ । 

तीन महिनापछि बल्ल चामल वितरण गरेको भएपनि उनीहरुले एक महिनाको मात्रै चामल पाउने भएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो । तीन महिनायता लिमिटेडको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेको थियो । 

चार केजी चामलका लागि नागरिकता पेस

लिमिटेड शाखा हुम्लाले तीन महिनासम्म खाद्यान्न वितरण गर्न नसकेर आजदेखि वितरण कार्य सुरु गरेको छ । चामल लिन लिमिटेडको शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यता जस्तै बनेको छ । नागरिकता पेस नगर्दा चामल नपाइने भएको स्थानीयवासी गणेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सधैँ चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यो पटक नागरिकता अनिवार्य गरेको छ, यसले गर्दा सोझा सर्वसाधरणलाई थप झन्झटिलो बनेको छ ।”

चामल पाउनका लागि लाइनमा बस्नुपर्ने बाध्यता छँदै छ । फेरि अर्को झन्झट नागरिकताको फोटोकपी बुझाउनुपर्ने स्थित छ । अनुदानमा ढुवानी भएर आएको चामल लिनका लागि आफ्नो नागरिकता दिनुपर्ने यो कस्तो नियम हो भन्दै अर्का स्थानीयवासी जानकी भण्डारीले गुनासो पोख्नुभयो । आफूहरु सर्वसाधरणलाई दुःख मात्र दिन खोजेको उहाँको भनाइ छ । गाउँबाट साढे दुई घण्टाको पैदल हिडेर लिमिटेडको शाखा कार्यालय सिमकोट पुग्नुपर्ने बाध्यता त छँदैछ । त्यसमा पनि चार केजी चामलका लागि यहाँका नागरिकका लागि नागरिकता प्रमाण पत्र धरौटी राखे जस्तै भएको छ । सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिकले यस अगाडि वडाले दिएको रासन कार्डले हुन्थ्यो भने अहिले नागरिकता पेस गर्नुपर्छ । 

यता प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चामल पाउने नागरिकहरु नदोहोरिऊन् र उनीहरुले चामल पाए÷नपाएको विवरण राख्नका लागि नागरिकता अनिवार्य गरेको बताउनुभयो । गाउँघरका सबै नागरिक चामल पाउनबाट कोही नछुटून् भन्नका लागि उनीहरुको नागरिकता माग गर्ने निर्णय भएको बताउनुभयो । नागरिकता अनिवार्य नगर्दा बीचमा कोहीले दुई तीनवटा रासन कार्डसमेत बनाएर अनियमितता हुन सक्छ कि भने यसो गरिएको बताउनुभयो । 

मनपरी खुल्छ लिमिटेडको खाद्य गोदाम

सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य गोदान नियम विपरीत मनपरी खुल्दै आएको छ । खाद्य व्यवस्था समितिको बैठकले जन्म, मृत्यु र अतिआवश्यकका लागि हप्ताको एक शुक्रबार खोल्ने निर्णय गरेको छ । तर लिमिटेडले त्यसको विपरीत गोदाम खोलर आफ्नो अनुकूल चामल वितरण गरिरहेको छ । उक्त समितिले गोदाममा चामल मौज्दात बढी जम्मा पारेर महिनाको एक पटक सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका साथै बजारवासी र कर्मचारी वितरण गर्ने नियम बनाएको भए पनि यसको कुनै कार्यान्वयन नभएको बताइएको छ । 

शुक्रबार आन्दोलित बने सर्वसाधरण

लिमिटेडको शाखा कार्यालयले आजदेखि चामल वितरण गरेको भए पनि एक महिनाको पूरा पाउनुपर्ने चामलमध्ये आधा घटाएर वितरण गरेपछि सिमकोट गाउँपालिका–१ र २ नागरिक आन्दोलित बनेका हुन् । तल्लो बजारमा रहेको लिमिटेडको शाखामा चामल खरिद गर्न छोडेर उनीहरु जिल्ला प्रशासन कार्यालयमा आएर चामल पूरा वितरण गर्न माग राख्दै आन्दोलन गरेका थिए । सर्वसाधरण आक्रोशित भएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सिमकोट गाउँपालिका अध्यक्ष पद्मबहादुर लामा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारी, प्रहरी नायब उपरीक्षक हेरम्भ शर्मालगायतको टोली बसेर तीन महिनापछि वितरण भए पनि यहाँका नागरिकले पाउनुपर्ने सबै खाद्यान्न वितरण गर्ने सहमति भएको हो । 

सीता एयरले ढुवानीमा ढिलाइ गर्दा चामल अभाव

हुम्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा पाएको निजी सीता एयरले समयमै ढुवानी नगर्दा यहाँका नागरिक तीन महिनादेखि चामल पाउनबाट वञ्चित बनेका हुन् । 

विगतका वर्षमा सीता, तारा र समिट एयरलाइन्स सबैले खाद्यान्न ढुवानी गर्दा यसरी अभाव झेल्नु परेको थिएन तर यो पटक सीता एयरले दैनिक ढुवानीमा वास्ता नगर्दा थप समस्या निम्तिएको हो । खाद्यान्नले चालु आर्थिक वर्षमा हुम्लामा २७ हजार ९०० क्विन्टल चामल ढुवानी गर्ने भनेको छ । तर ढुवानीमा हुने बेवास्ताले तीन महिना बित्दासमेत उसले ढुवानी गरेको छैन । अहिले झन्डै एक हजार २०० क्विन्टल मात्रै चामल मौज्दात रहेको लिमिटेड शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो । त्यही मौज्दात रहेको चामल तीन महिनादेखि नपाएका सर्वसाधरणलाई वितरण गर्न थालिएको प्रमुख अधिकारीले बताउनुभयो । 

गत असोजपछि सर्वसाधरणका लागि बिक्री वितरण बन्द गरिएको उहाँले बताउनुभयो । साउन, भदौ र असोज महिनामा भने अघिल्लो वर्षको मौज्दात खाद्यान्नबाट बिक्री गरिएको थियो । शाखाबाट तीन हजारभन्दा बढी मासिक रुपमा खाद्यान्न पाउने ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने