नन्दराम जैशी, भदौ २६, जुम्ला । जुम्ला बजारमा विक्रि हुने समानको मूल्यमा एकरुपता नहुँदा उपभोक्तालाई समस्या भएको छ । जुम्ला बजारमा रहेका पसलहरुले मनपरि तरिकाले सामानको मूल्य लिने गर्दा समस्या भएको उपभोक्ताले गुनासो गरेका छन् । पसल पिच्छे सामानको मूल्य फरक भएको उद्योग वाणिज्य संघ जुम्लाका कार्यालय प्रमुख पारस उपाध्यायले बताउनु भयो ।
जुम्ला बजारमा रहेका पसलहरुले विना मूल्यसुचि सामानहरु विक्रि वितरण गर्ने गरेकाले उपाध्यायले बताउनु भयो । जुम्ला बजारमा सञ्चालित अधिकांस होटल, पसल तथा मेडिकलहरुले मूल्यसुची लुकाएर सामान बेच्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाद्धारा पटक–पटक भएको बजार अनुगमनमा मूल्यसुची नराखी मनपरी ढंगबाट व्यापारीहरूले सामान बेच्ने गरेको फेला परेको हो ।
अनुगमनका क्रममा मूल्यसुचि बिना सामान विक्रि वितरण नगर्न निर्देशन भएपनि व्यापारिहरुले विना मूल्य सूचि सामानहरु विक्रि वितरण गरेको पाइएको छ । उद्योग वाणिज्य संघले सामान बिक्री वितरणको मूल्यसूची बनाएर हरेक पसल र होटलमा उपलब्ध गराएको भए पनि व्यापारीले प्रयोग नगरेको उद्योग वाणिज्य संघ जुम्लाले जनाएको छ । उपभोक्तालाई अनिवार्य सामान लिएको बिल दिन र प्यान नम्बर राख्न व्यापारिलाई ताकेता गेर पनि कार्यान्वयन हुन नसकेको कार्यालय प्रमुख उपाध्यायले बताउनु भयो ।
यता निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले व्यापारिलाई सहि मूल्यमा सामान बेच्न आग्रह गरिएको बताउनु भयो । बिना मूल्यसुचि सामान विक्रि वितरण गर्न नपाइने बताउँदै उहाँले बजार अनुगमन गरि मूल्यसुचि अनिवार्य राख्न लगाइने बताउनु भयो ।