कानून विपरितका मेडिकल पसलेलाईस्वास्थ्य मन्त्रालयले कारवाही गर्ने

Posted on: 12 Sep, 2016

भदौ २७, पर्बत । कानून विपरित स्वास्थ्य सेवाको नाममा कमाउ धन्दा गर्दै आएका पर्वतका मेडिकल पसललेहरुलाई नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले कारवाही गर्ने भएको छ । 

हेल्लो सरकार मार्फत् सर्वसाधारणले नै मेडिकल पसलेका विरुद्ध उजुरी गरेका हुन् । आइतवार दर्ता भएको उजुरीपछि स्वास्थ्य मन्त्रालयले कारवाही अगाडि बढाएको छ । नेपाल सरकारको स्थानीय प्रतिनिधित्व मानिने र जनतालाई कानूनी शासन दिलाउने जिल्ला प्रशासन कार्यालयले जनताको गुनासो सुनेन । 

कानून विपरित स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल पसलेहरुलाई प्रशासन कार्यालयले कुनै कारवाही चलाउन सकेको छैन । व्यापक जनगुनासो पछि कारवाहीको नाममा मेडिकल पसलहरुको सामान्य अनुगमन भयो तर कारवाही भएन । 

मेडिकल पसलेले स्वास्थ्य विभागबाट स्वीकृति नै नलिई संचालनमा ल्याएका एक्स रे, भिडियो एक्स रे, ईसिजी मेशीन लगायतलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिने र रोक्ने गरेको छैन । औषधि विक्री गर्ने अनुमति लिएका पसलेले विरामी चेकजाँच गरेका छन् ।

तिनीहरुलाई कारवाही गर्न छाडेर उल्टै एक देखि दुई महिनाको समय अवधि दिएर स्वीकृति लिई काम गर्न अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी भन्छन्,‘मेडिकल पसलहरुलाई एकदेखि दुई महिनासम्मको समय दिईएको छ । यो समयअवधि भित्र नसच्चिएमा कारवाही हुनेछ ।’ 

त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले मेडिकल पसलमा गरिएको अनुगमन र कारवाही बारे पुछताछ गर्दा आफूले जिल्ला प्रशासनलाई रिपोर्ट बुझाई सकेको भनी पन्छिन खोज्दछन् । कानून विपरितको काम गर्ने मेडिकल पसलेहरुका विरुद्ध कडा कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई केले रोक्यो ? भनी सर्वसाधारणले प्रश्न गरेका छन् । 

जिल्लाका प्रशासकले कुनै कारवाही गर्न नसकेपछि मेडिकल पसलेका विरुद्ध   सर्वधारण हेल्लो सरकारमा पुगेका हुन् । यो नेपाल सरकारले जनताको गुनासो सिधै सुन्नका लागि संचालनमा ल्याएको छ । 

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मेडिकल विरुद्धको कारवाही अगाडि बढाएर स्वास्थ्य मन्त्रालय मार्फत् मेडिकल पसलेहरुका विरुद्ध कारवाही थाल्दैछ । स्थानीय प्रशासनले पटक पटक अनुगमन गरी सच्चिन आग्रह गरेपनि कुनै सुनुवाई मेडिकल पसलहरुले गरेको पाईदैन । 

यस अघि २०७१ सालमा मेडिकल पसलहरु अनुगमन गरिदा कानून विपरित एक्स रे मेशीन, भिडियो एक्स रे, ईसिजि मेशीन लगायत राख्ने र विरामी चेकजाँच गर्ने भनी उल्लेख गरिएका मेडिकल पसलहरु यतिखेर पनि दोहोरिएका छन् । कानून विपरित स्वास्थ्य सेवा गर्दै आएका मेडिकलहरु पर्वत मेडिकल हल, गणेश मेडिकल हल, बाग्लुङ मेडिकल लगायत छन् ।

मेडिकल पसलहरुले कालोकर्तुत ढाकछोप गर्दै

स्वास्थ्य सेवाका नाममा सर्वसाधारणको स्वास्थ्य माथि गम्भीर खेलवाड गर्ने पर्वत कुश्मा र यस आसपासका केही मेडिकल पसलहरुले धमाधम आफ्नो कालो कर्तुत ढाकछोप गर्दै छन् । 

यसअघि औषधि पसलेहरुले कानूनी स्वीकृति नै नलिई एक्स रे, भिडियो एक्स रे, ईसिजी सेवा लगायत अन्य कार्य गरिने छ भनी बोर्डमै उल्लेख गर्दै आएका थिए । पत्रपत्रिका र जिल्लामा संचालित एफएम रेडियोमा चर्को प्रचार गर्थे । 

यतिखेर मेडिकल पसलवालाहरुको विरुद्ध समाचार संम्प्रेषणपछि भने उनीहरुले कानून विपरित गर्दै आएको कार्यलाई आफ्नो बोर्डबाट हटाउने र रेडियोबाट समेत प्रचार गर्न रोकेका छन् । 

केही मेडिकलवालाहरुले एक्स रे मेशीन, भिडियो एक्स रे लगायतका स्वास्थ्य संचालन गर्ने मेशिनहरु अझै पनि गोप्य रुपमा संचालनमा ल्याउदै गरेको सर्वसाधारणको भनाई छ । यसरी बोर्ड र प्रचारप्रसार हटाउनेमा पर्वत मेडिकल हल, गणेश मेडिकल हल लगायत छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!