सुनिल नारिन बने क्रिकेटमा रातो कार्ड पाउने पहिलो खेलाडी

Posted on: 28 Aug, 2023

भदौ ११, काठमाडौँ | वेस्ट इन्डिजका सुनिल नारिन अन्तर्राष्ट्रिय क्रिकेटमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । हाल वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले पहिलो पटक क्रिकेटमा रातो कार्डको परम्परा सुरु गरेको हो ।

सोही अनुरुप ‘ट्रिनबागो नाइट राइडर्स’ विश्व क्रिकेटमा रातो कार्ड पाउने पहिलो टोली बन्यो । ट्रिनबागो नाइट राइडर्स सुनिल नारिनको टोली हो । त्यसैले सुनिल नारिनले पनि रातो कार्ड पाए । सीपीएलको आइतबार भएको खेलमा ‘स्लो ओभर रेट’ का कारण ट्रिनबागो नाइट राइडर्स र सुनिल नारिनलाई कारबाही गरिएको हो । 


सेन्ट किट्स एन्ड नेभिस प्याट्राइट्सविरुद्घको खेलमा रातो कार्ड पाएपछि ट्रिनबागो नाइट राइडर्स अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । क्यारेबियन प्रिमियर लिगको पुरुष तथा महिला दुवै प्रतियोगितामा रातो कार्डको प्रयोग गरिने भएको छ । खेलका क्रममा गल्ती गर्ने खेलाडीलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाउन सक्ने अधिकारसम्म अम्पायरलाई दिइएको छ । 

क्रिकेटमा यो नियमलाई प्रयोगका रूपमा सुरु गरिएको हो । क्यारेबियन प्रिमियर लिगमा खासगरी बढ्दो ‘स्लो ओभर रेट’ समस्याका कारणले यो नियम लागू गरिएको हो । अहिलेसम्म विश्व क्रिकेटमा ‘स्लो ओभर रेट’ मा सम्बन्धित खेलाडीलाई जरिवाना मात्र तिराउने गरिन्थ्यो । तीनपटक ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका कप्तानलाई एक खेलको प्रतिबन्धसम्म लगाउने नियम अहिले छ । 

यति हुँदा पनि अहिले विश्व क्रिकेट ‘स्लो ओभर रेट’ को समस्याबाट मुक्त हुन सकेको छैन ।  ‘स्लो ओभर रेट’ का कारण पछिल्लो समय टीट्वान्टी क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न रातो कार्डको नियम लागू गरिएको क्यारेबियन प्रिमियर लिगका सञ्चालन निर्देशक माइकल हललेब बताए । 

जारी सीपीएलमा रातो कार्ड सम्बन्धी नियमअनुसार, १८औँ ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीको एकजना खेलाडीलाई फिल्डिङ सर्कलको भित्र बोलाइने छ । यस्तो अवस्थामा फिल्डिङ सर्कलभित्र चारको सट्टा पाँच जना खेलाडी रहने छन् ।  यसैगरी १९ औँ ओभरभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका दुईजना खेलाडीलाई ३० यार्डको सर्कलभित्र बोलाइने छ । यस्तो स्थितिमा ३० यार्डको सर्कलभित्र चारको सट्टा ६ जना खेलाडी थुप्रिने छन् ।

तर, २०औँ तथा अन्तिम ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका एकजना खेलाडीलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइने छ । कुन खेलाडीलाई मैदानबाट बाहिर पठाउने भनेर छान्ने अधिकार भने ब्याटिङ गरिरहेको टोलीको कप्तानलाई दिइने छ ।  

अर्थात, ब्याटिङ गरिरहेको टोलीको कप्तानले छानेको एकजना खेलाडी (फिल्डिङ गरिरहेको टोलीको) लाई मैदानबाट बाहिरी पठाइने छ । त्यसपछि फिल्डिङ गरिरहेको टोली १० खेलाडीमा समेटिने छ । यसका अतिरिक्त उक्त टोलीका ६ जना फिल्डिर पनि ३० यार्डको घेराभित्र रहने छन् ।

फिल्डिङ गर्ने टोलीका कारण मात्र सधैं टीट्वान्टी प्रतियोगिताको सहय लम्बिने होइन । कतिपय अवस्थामा ब्याटिङ गर्ने टोलीको बदमासीका कारण पनि प्रतियोगिताको समयावधि लम्बिन पुग्छ । यस्तो स्थितिमा ब्याटिङ गर्ने टोलीका खेलाडीले पनि सजाय पाउने छन् । 

त्यसैले ब्याटिङ गर्ने टोलीको बदमासी देखिएमा अम्पायरले सबैभन्दा पहिले उक्त टोलीका कप्तानलाई चेतावनी दिनेछन् । त्यसपछि पनि ब्याटिङ गर्ने टोलीको बदमासी कायमै रहे अम्पायरले जरिवाना स्वरूप पाँच रन घटाउने छन् । क्यारेबियन प्रिमियर लिग टीट्वान्टी प्रतियोगिताको आगामी सिजन अगस्ट १७ तारिखबाट सुरु हुँदैछ । टीट्वान्टी प्रतियोगितामा प्रत्येक पाली ८५ मिनेटको हुनेछ । १७औँ ओभरको खेल ७२ मिनेट १५ सेकेन्डमा सकिनु पर्छ । 

यसैगरी १८औँ ओभरको खेल ७६ मिनेट ३० सेकेन्डभित्र सकिनु पर्छ । १९औँ ओभरको खेल ८० मिनेट ४५ सेकेन्डभित्र सकिनु पर्छ । २०औँ तथा अन्तिम ओभरको खेल भने ८५ मिनेटभित्र सकिनु पर्ने नियम रहेको छ । क्यारेबियन प्रिमियर लिग अगस्ट ३१ तारिखमा सकिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!