2026-07-25 05:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

काठमाडाैँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा सांसद माधव सापकोटाले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेर विपद् प्रतिकार्यसँग सरोकार भएका संस्था र निकायलाई उच्च सतर्कताका साथ खटाउन सरकारसँग आग्रह गर्नुभयो ।

यही वैशाख १ देखि २८ गतेसम्म सात सय ३२ वटा विपद्का घटनाबाट २१ जनाको मृत्यु र रु १७ करोडको क्षति भएको जानकारी दिँदै उहाँले सरकारी निकायका बीचमा समन्वय नहुँदा उद्धार तथा राहत व्यवस्थामा चुनौती थपिएको बताउनुभयो ।

“प्रि–मनसुन सुरु भएको छ, कतिपय राजमार्ग अव्यवस्थित हुँदा यात्रुमा त्रास छ, नागरिकको सडकमा बास भइरहेको छ”, उहाँले भन्नुभयो, “विपद्को उच्च जोखिममा रहेका जिल्लालाई केन्द्रमा राखेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीमा विशेष योजना बनाएर अघि बढ्नुपर्छ ।”

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भाँसिएकाले आवागमन पूर्णरूपमा अवरुद्ध भएको उल्लेख गर्दै सांसद सापकोटाले स्याउ, लसुनलगायत उपभोग्य वस्तु बोकेर तातोपानी नाका हुँदै नेपाल भित्रिएका ३० वटा कन्टेनर र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेका जानकारी दिनुभयो ।

सांसद रुक्मिणी राना बराइलीले प्रि–मनसुनकै अवस्थामा राष्ट्रिय राजमार्गको अवस्था नराम्ररी प्रभावित भएको जनाउँदै वर्षायाम अगावै सडक स्तरोन्नति गर्न माग गर्नुभयो । सांसद भगवती चौधरीले सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा पर्ने टयाङ्ग्रा खेलासहित नदीले डुबान तथा कटान गरेर जनधनको क्षति गर्दै आएकाले तटबन्ध गरेर नदी नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

सांसद रमा कोइराला पौडेलले यही वैशाख २९ गते आकस्मिक रूपमा आएको बाढीले बिपी राजमार्गको केही भाग बगाउँदा १४ घण्टा यात्रु अलपत्र परेका उल्लेख गर्दै वैकल्पिक बाटोको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको साँघुटार–घोराखोरी–सिलौरीघाट र ढाँडे–रगने–फलाँटे–भूसिङ्गालगायत सडक बजेट अभावमा निर्माण ठप्प हुने अवस्थामा पुगेको जनाउँदै दूधकोशी जलविद्युत् आयोजनासहित अलपत्र सडक निर्माणमा आवश्यक स्रोत सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमप्रसाद आचार्यले सुनसरी सदरमुकामबाट भारतको सीमासम्म जाने सडक स्तरोन्नतिको कामलाई तीव्र बनाइ चालु आवभित्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मनबहादुर गुरुङले पृथ्वी राजमार्गमा पर्ने विजयपुर खोलामा पुल निर्माण गर्न आगामी आवको बजेटमा स्रोतको सुनिश्चितताका लागि सरकारसँग माग गर्नुभयो ।

सांसद मेनकाकुमारी पोखरेलले दाङको घोराही–तुलसीपुर चारलेन सडक र टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि स्रोत सुनिश्चित गर्न आग्रह गर्नुभयो । सांसद रणेन्द्र बरालीले गण्डकी र बागमती प्रदेशलाई जोड्ने नारायणी नदीमा बन्ने ‘सिग्नेचर’पुलको निर्माणलाई तीव्र दिन माग गर्नुभयो ।

सांसद मनिष झाले वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासलाई सक्रिय बनाउन माग गर्नुभयो । सांसद महेश बस्नेतले हवाई सेवा प्रदायक संस्थाले यात्रुलाई अनावश्यक दुःख दिने र अनुत्तरदायी व्यवहार गरिरहेको जनाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा उठाइएका विषय सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मैना कार्कीले द्वन्द्वकालीन घटनाको निरुपण गर्न गठित आयोगमा पीडितको प्रतिनिधित्व नहुनु दुःखद् भएको उल्लेख गर्दै पीडितलाई केन्द्रमा राखेर आयोग गठन गर्न माग गर्नुभयो ।

सांसद रणकुमारी बलम्पाकी मगरले संसद् र संसदीय समितिमा आरोप र प्रत्यारोप मात्र नभई संविधान कार्यान्वयनका लागि बाँकी कानुन बनाउनेतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । सांसद रञ्जुकुमारी झाले तराई मधेसमा बढ्दो गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै उपचारको उचित प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

सांसद राजेन्द्रकुमार राईले तमोर कोरिडोरअन्तर्गत धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकामा सिँचाइका विभिन्न आयोजना सञ्चालन भइरहेकामा स्रोतको अभावका कारण निर्माण ठप्प भएको जनाउँदै आगामी आवमा आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरू सांसद राजेन्द्र बगजाईं, रामकुमार राई, रामकृष्ण यादव, रामशङ्कर यादव, रुपा शोशी चौधरी, रेखा शर्मा, रोशन कार्की, लक्ष्मी तिवारी, लालप्रसाद साँवा लिम्बू, लालवीर चौधरी, लेखनाथ दाहाल र विजुला रायमाझीलगायतले विकास निर्माण, सुशासन प्रवर्द्धन, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनभुयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक