चाडपर्वमा हामी थरीथरीका परिकार बनाउँछौं । आगन्तुकको सत्कार गर्न आफ्नो भान्सामा पकाएको परिकार चखाउँछौं । यतिबेला पाहुना आउने-जाने क्रम चलिरहन्छ । त्यसैले पाहुना आउनुअघि नै खानेकुरा तयार गरेर राख्न सहज लाग्छ हामीलाई ।
त्यसो त अन्य दिनमा पनि हामी खानेकुरा बनाएर राख्छौं, जो केही समय राखेर खाइन्छ । अहिले शहरिय क्षेत्रका कामकाजी दम्पतीले एक पटकमा दुई, तीन छाकका लागि खाना तयार गर्ने चलन पनि छ । आज बनाएको खाना बाँकी राखेर बेलुका वा अर्को बिहानसम्म खाने गरिन्छ । खाना पकाइरहने समयको बचत गर्न र झन्झटबाट मुक्त हुने काइदा हो यो ।
खानेकुरा जब विषालु बन्छ
धेरैजसो खानेकुरा जब पकाएर लामो समय राखिन्छ, त्यो खान योग्य हुँदैन । अर्थात पकाएर राखेको खाना केही समय राखेर सेवन गर्दा त्यसले भोक त मेट्छ, शरीरको आवश्यक्ता पुरा गर्दैन ।
दाल, भात, तरकारी, अचार आदि जो पकाइन्छ, यस्ता खानेकुरा निश्चित अवधीभित्र सेवन गरिसक्नुपर्छ । यदी त्यसो गरिएन भने हामी खानाको रुपमा विष सेवन गर्न पुग्छौं । किनभने लामो समय राखिएको खाना विषाक्त बन्ने प्रक्रियामा हुन्छ ।
पेट भर्ने कि पोषक तत्व प्राप्त गर्ने ?
तपाईं/हामीलाई थाहै छ, खाना खानु भनेको पेट भर्नु वा भोक मेट्नु मात्र होइन । जिब्रोको तलतले मेट्नु मात्र पनि होइन । हामीले खाने खाना खासमा शरीरको लागि हो । शरीरलाई स्वस्थ्य, तन्दुरुस्त, उर्जावान र जीवित राख्नका लागि खाना अपरिहार्य मानिन्छ ।
हामीले खाने खाना यस्तो स्रोत हो, जसबाट शरीरलाई आवश्यक विभिन्न पोषक तत्व प्राप्त हुन्छ । प्रोटिन, क्याल्सिमय, भिटामिन, फाइबर, फलाम आदि तत्वहरु खानेकुराको माध्यामबाट प्राप्त हुन्छ । यी पोषक तत्व हाम्रो शरीरका लागि अनिवार्य हुन् ।
त्यसैले खानेकुरा सेवन गर्नु भनेको त्यसमा रहेको विभिन्न पोषक तत्व ग्रहण गर्नु हो । जब कुनैपनि खानेकुरा पकाएर लामो समय राखिन्छ, त्यसमा रहेको पोषक तत्व क्रमस नष्ट हुँदै जान्छ । त्यती मात्र होइन, रासायनिक प्रतिक्रियाद्वारा त्यो विषाक्त बन्दै जान्छ । त्यसैले निश्चित अवधीभन्दा लामो समय राखेर खाइएको खानाले शरीरलाई रोगी, जीर्ण बनाउँछ ।
खाना विषाक्त बनेपछि
पकाएको खानेकुरा जति जति समय गुजि्रदै जान्छ, उत्तिनै खराब हुँदै जान्छ । निश्चित अवधीपछि उक्त खानेकुरा सड्ने, गल्ने प्रक्रियामा जान्छ । त्यसपछि खानेकुरामा हानिकारक जीवाणुहरु बढ्न थाल्छ । यस्ता खानेकुरा शरीरमा नपच्ने मात्र होइन, हानिकारक समेत हुन्छ । खाना खराब हुँदै जाँदा त्यसमा रहेको ब्याक्टेरिया सात घण्टापछि एक लाख गुना बढ्न पुग्छ । यसले खानामा टक्सिन अर्थात विषाक्त तत्व बढाइदिन्छ ।
पकाउन नजान्दा पनि विषाक्त
चाडपर्वमा हामी खानेकुरा बनाएर लामो समय राख्छौं । कतिपय खानेकुरा पटक पटक तताएर खान्छौं । धेरैजसो खानेकुरा पुनः पकाउँदा पनि त्यो विषालु हुनपुग्छ । यस्ता खानेकुराले हाम्रो स्वास्थ्य खराब गर्छ । भित्री अंगहरु खासगरी कलेजो, मिर्गौला अदिको कार्य संचालनमा बाधा पुर्याउँछ ।
शरीरमा विभिन्न रोगको आक्रमण त्यही बेला हुन्छ, जतिबेला हाम्रो शरीरको कार्य क्षमता घट्छ । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । शरीरभित्र विषाक्त तत्व बढ्न थाल्छ । र, यस्तो अवस्थामा आउनुमा खराब खानपान मूख्य हुन्छ ।
सकेसम्म ताजा वा पकाउनसाथ खानेकुरा सेवन गरौं । खानेकुरा पकाउने शैलीले पनि त्यसलाई पोषिलो राख्ने वा विषालु बनाउने भन्ने कुरामा निर्भर गर्छ । हरेक खानाको प्रकृति अनुसार त्यसलाई पकाउने निश्चित विधी र समय हुन्छ । यसरी सबै कुरा मिलाएर पकाएको खानेकुरामा पोषक तत्व रहन्छ ।
जस्तो, हरियो सागपातमा फाइबरको मात्रा बढी हुन्छ । तर, त्यही सागलाई लामो समय पकाइयो भने त्यसको पोषक तत्व नष्ट हुन्छ । दुधमा पनि क्याल्सियम, भिटामिन डि जस्ता थुप्रै किसिमका पोषक तत्व पाइन्छ । तर, दुधलाई निश्चित समयभन्दा बढी पकाइयो भने त्यसमा रहेको पोषक तत्व रहँदैन ।
कुनैपनि खानेकुरा कसरी पकाइन्छ वा त्यसमा के मिश्रण गरिन्छ भन्ने कुराले पनि पोषक तत्व कति प्राप्त हुन्छ भन्ने कुरा निक्र्यौल गर्छ ।
खानेकुरालाई सही ढंगले भण्डारण गर्ने, पकाउने र खाने गर्नुपर्छ । यसरी खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले ग्रहण गर्छ । अन्याथा, खानेकुरा रोगको स्रोत बन्छ ।
भनिन्छ नि, संसारमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा दोब्बर खान नजानेर मर्छन् ।
अनलाइन खबर