साउन २३, काठमाडौं । पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्न सक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती ।
फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टि्मिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् ।
गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ एग्रो कम्पनी स्थापना गरे । कम्पनीका अध्यक्ष अग्नि राई भन्छन्, “परीक्षण सफल भएपछि तेल आउँदो रहेछ भनेर थाहा पायौँ, गत वर्ष करिब ४५ केजी तेल निकाल्न सफल भयौँ । ”
अध्यक्ष राईका अनुसार तितेपातीको तेल पानीभन्दा हलुका हुन्छ । एक हजार मिलिलिटर पानीको एक केजी हुँदा तितेपातीको तेल भने एक हजार दुई सय मिलिलिटरको एक केजी हुन्छ । आसपासका गाउँमा यसअघि नै भएको परीक्षण असफल बनेको उनले थाहा पाएको थियो । मेसिन बनाएर तितेपातीको तेल निकाल्न सफल भएको उनले बताए ।
गुणस्तर परीक्षणका लागि जडीबुटी विभागमा पठाएपछि स्थानीय उत्पादक अहिले बजारको खोजीमा छन् । सोही क्रममा काठमाडौँमा भएको जडीबुटी प्रदर्शनीमा पनि तितेपातीको तेल बजार खोज्न आइपुगेको थियो । “नेपालसँग विभिन्न देशले धेरै पहिले तितेपातीको तेलको माग गरेका रहेछन् तर दिन नसकेपछि त्यो माग अन्तै देशमा पुग्यो,” राईले थपे ।
तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन् ।
त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताऐ । उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छाड्दा कीरा भाग्ने गर्छन् ।
तितेपातीमा भएको लामो अनुसन्धानपछि परम्परागत औषधिबाट मलेरिया निको पार्न सकिने खोजमा चीनले सफलता पाइसकेको छ । जसका कारण सन् २०१५ को फिजियोलोजी अर्थात् औषधितर्फको नोबेल पुरस्कार चीनले प्राप्त ग¥यो । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।