पढ्न करिब 3 मिनेट लाग्छ

पुस ५, पोखरा । पर्यटन पथप्रदर्शनसम्बन्धी तीनसय घण्टे तालीम लिएका सहभागी विदेशी पर्यटक घुमाउन आतुर देखिएका छन् । नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपााल पर्यटन बोर्डको सहयोगमा भएको उक्त तालीममा सहभागी ३० वर्षीय सोमनाथ पन्थीले तालीमबाट धेरै कुरा सिकेको र पर्यटकलाई घुमाउन आफू आतुर रहेको बताउनुभयो ।

“यस क्षेत्रमा मैले १०/१२ वर्ष बिताए पनि आतिथ्यलगायत धेरै ज्ञानको अभाव रहेछ, पर्यटक पथप्रदर्शक भएर अपनाउनुपर्ने धेरै कुरा तालीम लिएपछि मात्र सिक्न पाएँ”, उहाँले भन्नुभयो “ कोभिड– १९ सकिएर कहिल्यै विदेशी पर्यटक आउलान् भन्ने पर्खाईमा छु । ”

अर्का सहभागी २६ वर्षीया विद्या अधिकारी शिक्षण पेशा छोडेर पर्यटक पथप्रदर्शक रोजेको बताउनुभयो । “मेरो सानैदेखिको रुचिलाई पेशामा परिणत गर्दैछु, तालीमले आत्मविश्वास बढेको छ । विदेशी पर्यटकलाई आफ्नो देशको रहनसहन संस्कृतिसँगै प्रकृति चिनाउन आतुर छु । ”

स्नातकोत्तरको चौथो सेमेष्टर अध्ययरत २४ वर्षीया सङ्गीता सिग्देलले पर्यटन क्षेत्रमा अपनाउनुपर्ने आतिथ्यतादेखि धेरै कुरा तालीमबाट सिक्ने पाएको अनुभव सुनाउनुभयो । “टुर एण्ड ट्राभल्समा काम गर्थे तर धेरै कुरा थाहा थिएन तालीमपछि निकै उत्साहित छु”, उहाँले भन्नुभयो, “तालीम लिएको झण्डै एक वर्ष भयो । बल्ल प्रमापत्र लियौँ अब अनुमतिपत्र लिएर विदेशी पर्यटकलाई घुमाउने दिनको पर्खाईमा छौँ ।”

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को सहकार्यमा गत पुस ७ गतेदेखि शुरु भएको ३०० घण्टाको (१५० सैद्धान्तिक र १५० स्थल भ्रमण) तालीममा सहभागीलाई कोभिड– १९ का कारण प्रमाणपत्र वितरणको कार्य रोकिएको संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रमका संयोजक हरिराम अधिकारीले जानकारी दिनुभयो । “तालीम पहिल्यै सकिएको हो, तर नाथमबाट प्रमाणपत्र आएर सहभागीलाई वितरण गर्ने कार्यक्रम तय हुँदै गर्दा कोभिड– १९ कारण रोकिएको थियो । अहिले केही सहज वातावरणमा स्वास्थ्य सतर्कतासहित सहभागीलाई प्रमाणपत्र दिएका हौँ ।”

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले पर्यटन क्षेत्रमा पथप्रदर्शकको ‘हस्पिटालिटी’ले मुख्य भूमिका खेल्ने बताउनुभयो । “अधिकांश पर्यटकले गाइडलाई विश्वास गर्छन्, पर्यटकलाई सही सूचना र राम्रो आतिथ्यता दिएर मन जित्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “यहाँहरुले तालीमबाट धेरै कुरा सिक्नुभएको छ, आउने दिनमा व्यवहारमा पनि लागू गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”

अग्रज पर्यटन व्यवसायी गणेशबहादर भट्टराईले पर्यटक पथप्रदर्शकले देशको भाषा संस्कृति र भौगोलिक अवस्थितिका बारेमा राम्रो जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो ज्ञानले मात्र विदेशी पर्यटकलाई नेपालको मौलिक संस्कृति र यहाँको गन्तव्यको चिनारी गराउन सकिन्छ, यहाँहरुले तालीम लिनुभएको छ, अब राम्रो सेवा पनि दिनुहोस् ।” उहाँले भन्नुभयो ।  संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले तालीमप्राप्त दक्षजनशक्तिले पर्यटकका लागि गुणस्तरीय सेवा दिन सहयोग पुग्ने भएकाले युवालाई तालीम प्रदान गरेको बताउनुभयो ।

नाट्टाका महासचिव कमला गिरीले तालीममा २६ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । उहाँले पर्यटन गतिविधिका कार्ययोजनका बारेमा अग्रज पर्यटन व्यवसायी र सरोकारवालबीच अन्तक्र्रियात्मक कार्यक्रमसमेत गरेको जानकारी दिनुभयो ।