चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान

Posted on: 14 Jan, 2023

पुस ३०, वाशिङ्टन | इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी  राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ । दुवै पक्षले सुरक्षा रणनीतिबारे छलफल गरेको जापानको एनएचके वर्ल्डले  उल्लेख गरेको छ।

ह्वाइट हाउसमा भएको भेटमा प्रधानमन्त्री किशिदा र राष्ट्रपति बाइडेन बीच दुई घन्टा लामो कुराकानी भएको थियो ।  सो वार्तामा किशिदाले जापानले आफ्नो सुरक्षा रणनीतिमा उल्लेखनीय परिवर्तन गरेको बताउँनु भएको थियो।   सो  परिवर्तित  नीतिहरूमा उल्लेख्यरूपमा रक्षा बजेटमा वृद्धि र काउन्टर स्ट्राइकको योजना लगायतका विविध विषय समावेश छन् । क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न जापानी प्रधानमन्त्रीले जापानको सुरक्षा रणनीतिमा जोड दिएकाले सुरक्षा वातावरण पहिलेभन्दा धेरै गम्भीर र जटिल भएको  उल्लेख गर्नु भएको  एनएचके वर्ल्ड  उललेख गरेको छ ।

राष्ट्रपति बाइडेन र जापानी प्रधानमन्त्रीले  ताइवान स्ट्रेटमा द्वन्द्वबाट बच्न आफ्नो प्रतिबद्धता दोहोर्याएको बैठकपछि व्हाइट हाउसले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ । 

"हामी ताइवानमा हाम्रा आधारभूत अडानहरू अपरिवर्तित रहने कुरामा जोड दिन्छौं साथै  अन्तरराष्ट्रिय समुदायमा सुरक्षा र समृद्धिको अपरिहार्य तत्त्वको रूपमा ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने महत्त्वलाई दोहोर्याउँदछौं," ह्वाइट हाउसले भनेको छ ।  

अगस्टको शुरुमा अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले चीनलाई आक्रोशित पार्दै ताइवानको भ्रमण गरेपछि ताइवान वरपरको स्थितिमा सुरक्षा संवेदनशीलता बढेको थियो।  यसैगरी पछिल्ला महिनाहरूमा फ्रान्स, जापान र अन्य पश्चिमी देशहरूले पनि यस टापुमा आफ्ना प्रतिनिधिमण्डलहरू पठाएर  सुरक्षा संवेदनशीलतालाई  थप पेचिलो बनाएका थिए ।

ह्वाइट हाउसको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले जापानको नयाँ राष्ट्रिय सुरक्षा रणनीति, राष्ट्रिय रक्षा रणनीति र रक्षा निर्माण कार्यक्रमको पनि प्रशंसा गरेका छन्। 

यसै बीच कोभिड-१९ महामारी लगायतका  विषयमा पर्याप्त र पारदर्शी डेटा उपलब्ध गराएर   विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई मद्द्त गर्न पनि अमेरिका र जापानका नेतद्वयले चीनलाई विशेष आग्रह गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ "हामी चीनलाई कोभिड-१९ को फैलावट सम्बन्धी पर्याप्त पारदर्शी एपिडेमियोलोजिकल र भाइरल जीनोमिक अनुक्रम डेटा  सार्वजनिक गर्न पनि आह्वान गर्दछौं ।  जसले विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई महामारिको फैलावट कम गर्न र कुनै पनि सम्भावित नयाँ भेरियन्टहरू पहिचान गर्न सहयोग पुर्याउँने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!