कात्तिक १८, काठमाडौँ । टि-२० विश्वकपको छनौट खेलमा युएईलाई पराजित गर्दै नेपाल १० बर्षपछि टि-२० विश्वकपमा प्रवेश गरेको छ । साथै जारी खेलको फाइनलमा समेत प्रवेश गरेको छ । फाइनलमा आइतबार नेपालले ओमानसँग खेल्नेछ ।
शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । तात्कालिन अवस्थामा नेपाली टोली बंगलादेशमा आयोजित विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।
शुक्रबार काठमाडौँको टियु ग्राउण्डमा भएको छनोट खेलबाट ओमान पनि बहराइनलाई १० विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएको छ ।
मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । नेपालले १७.१ ओभरमै युएईले दिएको लक्ष्य २ विकेट मात्रको क्षेतिमा पुरा गर्न सफल भयो ।
यस अघि युएईलाई १३५ रन मात्र बनाउन दिँदा वृत्य अरविन्दले सर्वाधिक ६४ बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । उनी यूएईको सातौँ विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनलाई कुशल मल्लले गल्सन झाद्वारा क्याच गराएका थिए ।
त्यस्तै कप्तान मोहम्मद वासिमले २६ रन बनाएर आउट भए । उनले दुई छक्का र तीन चौका हिर्काएका थिए । टोलीको खातामा आसिफ खानले १३ रन थपे । एलिसन सराफुले १६ रन जोडे ।
नेपाली टोलीका बलर कुशल मल्लले तीन विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चिएका थिए । सन्दीप लामिछानेले दुई विकेट हात पारे । स्पिनर लामिछानेले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । सोमपाल कामी र अविनाष बोहराले पनि एक—एक विकेट हात पारे ।