कार्तिक २२, काठमाडौँ | इजरायल–हमास युद्धले एक महिना पार गरेको छ । गत ७ अक्टोबरका दिन विद्रोही हमास समूहले आफ् नो नियन्त्रणमा रहेको गाजा क्षेत्रबाट इजरायलतर्फ अनायासै हजारौं रकेट प्रहार गरेको मात्र नभई बुलडोजरलगायत यन्त्र प्रयोग गरेर सीमा तार भत्काउँदै जमिनबाट र ग्लाइडरमार्फत आकाशबाट समेत आक्रमण गरेर १ हजार ४ सयभन्दा बढी इजरायली एवं विदेशी नागरिकहरूको हत्या गरेको थियो ।
उसले २ सय ५० को हाराहारीमा विभिन्न व्यक्तिहरूलाई अपहरण गरेर बन्धक बनाएपछि प्रत्याक्रमणमा इजरायलले ३० दिनदेखि गाजा क्षेत्रमा भीषण प्रहार गर्दै आएको छ । यसक्रममा झन्डै १० हजार गाजावासीको मृत्यु भइसकेका छ भने मृत्यु भएकामा ४ हजारभन्दा बढी केटाकेटी रहेका बताइएको छ । यसक्रममा इजरायलमा ठूलो संख्यामा श्रमिक कामदारको अभाव हुन पुगेको छ ।
इजरायलको श्रम बजारमा नेपालबाट धेरै संख्यामा महिला केयरगिभरहरू रहेका छन् । कृषि फार्म एवं किबुत्जमा काम गर्ने कामदारहरू थाइल्यान्डजस्ता मुलुकबाट जाने गरेका छन् । निर्माण कार्यजस्ता कडा श्रम लाग्ने काममा मूलतः गाजा र वेस्ट ब्यांक निवासी प्यालेस्टिनीहरू रहेका थिए । चालू युद्धका कारणले हाल कार्यरत प्यालेस्टिनीहरूलाई इजरायलले निष्कासन गरेको छ । बुल्गेरिया र रोमानियाजस्ता पूर्वी युरोपका कामदारहरू युद्धको त्रासका कारण पलायन भएका छन् । हाल निष्कासन गरिएका प्यालेस्टिनीहरूलाई युद्ध समाप्त भएपछि पनि पुनर्बहालीको सम्भावना एकदमै न्यून छ । यस्तो परिस्थितिले गर्दा इजरायललाई कडा श्रम गर्ने कामदारको अभाव हुने पक्कापक्की छ ।
इजरायलमा सक्रिय निर्माण कम्पनीहरूले सरकारसमक्ष आफूहरूलाई ठूलो संख्यामा कामदार चाहिने प्रतिवेदन दिइसकेका छन् । इजरायल सरकारले भारत सरकारसमक्ष १ लाख श्रमिक कामदार उपलब्ध गराइदिन अनुरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यस वर्षको सुरूमै भारत र इजरायलबीच ४० हजार श्रमिक उपलब्ध गराउने सम्झौता भएको थियो । तर, युद्धको वर्तमान परिस्थितिले गर्दा इजरायल जान भारतीय नागरिक तयार नहुने सम्भावना त छँदै छ, स्वयं भारत सरकारसमेत कुनै निर्णय गर्न हिच्किचाउने हुनसक्छ । यस अवस्थामा नेपाली श्रम बजारका लागि यो ठूलो मौका हुनसक्छ । युद्धको जोखिम आफ्नो ठाउँमा छ । श्रम गर्न मध्यपूर्वका अन्य कुनै मुलुकमा जाने नेपालीका लागि पनि यो जोखिम सदासर्बदा छ ।
अन्य सेवा सुविधा र आमसुरक्षाका दृष्टिले कुनै अन्य मुलुकभन्दा इजरायल उत्कृष्ट साबित हुन्छ । नेपालसँग इजरायल सरकारले सम्पर्क गरे नगरेको बारेमा केही सूचना छैन । तर, नेपाल सरकार र सम्बन्धित निकायले जोखिम आदिका दृष्टिले कडा श्रमका लागि इजरायल उपयुक्त गन्तव्यका रूपमा ठहर ग¥यो भने यो राम्रो अवसर हो । आफैले पहल गरेर इजरायलसँग सम्पर्क स्थापित गरियो भने श्रम आपूर्ति सम्बन्धमा ठूलै दूरगामी सम्झौता हुनसक्छ । थोरै कूटनीतिक कौशलको आवश्यकता भने पर्नेछ । यहाँनेर स्मरणीय कुरो के छ भने नेपाल इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने एसियाकै पुरानो मुलुकका रूपमा गनिन्छ । इजरायली सरकार र आमजनताबीच पनि नेपाल र नेपालीहरूको राम्रो प्रतिष्ठा कायम छ । यस संकटको समयमा श्रम आपूर्ति हुने कुरालाई इजरायलले गुनका रूपमा लिनेछ र कृतज्ञ बन्ने सम्भावना बढी छ । त्यसो त, विदेशमा कामदार पठाउने कुरो नै आलोच्य रहिआएको छ ।
नीतिगत रूपमै अब हामीले श्रम नबेच्ने निर्णय गर्ने हो भने ठीक छ । होइन, कतार र यूएई वा साउदीजस्ता मुलुकमा श्रमिक पठाइरहने हो भने इजरायल यी मुलुकहरूको तुलनामा उत्कृष्ट छ भन्नुपर्ने हुन्छ । श्रमको ज्याला, सामाजिक सुरक्षा, कानुनी अवस्था र जिउ ज्यानको सुरक्षासमेतका हिसाबले इजरायल हामीले हाल श्रमिक उपलब्ध गराइरहेको मुलुकभन्दा अब्बल छ । वर्तमान युद्धग्रस्त अवस्थामा समेत केयरगिभरका रूपमा कार्यरत हाम्रा महिला श्रमिकहरू बिरलैले नेपाल फर्किन चाहेको तथ्यले पनि इजरायल श्रम गन्तव्यका रूपमा गतिलो गन्तव्य हो भन्ने बुझिन्छ । यस्तो अवस्थामा नेपालले पहल किन नगर्ने ?