कात्तिक ३०, काठमाडौँ । अष्ट्रेलियाले भारतको कोलकातास्थित ईडन गार्डन्स खेल मैदानमा खेलेको दोश्रो सेमीफाइनलमा साउथ अफ्रीकालाई ३ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अष्ट्रेलियाको टिम ८ औं पटक यस टूर्नामेन्टको फाइनलमा पुगेको छ ।
यता दक्षिण अफ्रिका एक पटक फेरी ठूलो टूर्नामेन्टबाट हार व्यहोर्न बाध्य भएको छ । यो उसको लागि फाइनल पुग्ने पाँचौं मौका थियो तर यो पटकको विश्वकपमा पनि उस्तै हार व्यहोर्न पुगेको छ ।
दक्षिण अफ्रीकाले यस खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने फैशला गरेको थियो। जसमा दक्षिण अफ्रिकाले ४९.४ ओभरको खेलमा २१२ रन मात्र बनाउन सक्यो । खेलमा मिलरले सबैभन्दा बढी १०१ रन बनाएका थिए । दक्षिण अफ्रिकालाई कम लक्ष्यको रन बनाउन दिने क्रममा अष्ट्रेलियाका मिचेल स्टार्क र पैट कमिन्सले ३/३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७.२ ओभरको खेलमा ७ विकेटको क्षेतिमा दक्षिण अफ्रिकाले दिएको लक्ष्य पुरा गर्दै फाइनलमा प्रवेश गरेको हो ।
अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । उनले आक्रामक इनिङ्स खेल्दै ४८ बलमा नौ चौका र २ छक्का हिर्काए । अर्का ओपनर डेभिड वर्नरले पनि मात्र १८ बलमा २९ रन बनाए । उनले एक चौका र ४ छक्का हिर्काए ।
वर्नर आउट भएलगत्तै मिचेल मार्स शून्य रनमा आउट भएपछि अस्ट्रेलिया दबाबमा परेको थियो । त्यसपछि पूर्वकप्तान स्टिभ स्मीथले ३० रन बनाउँदै टोलीलाई केही राहत दिलाएका थिए । तर मार्नस लाम्बुसेन १८ रन र ग्लेन म्याक्सेवल मात्र १ रन बनाएर आउट भएपछि टोली पुनः दबाबमा पर्यो ।
यद्यपि विकेटकिपर जोस इंग्लिसले २८ रन बनाउँदै अस्ट्रेलियालाई जीतको नजिक पुर्याए । त्यसपछि कप्तान प्याट कमिन्सले मिचेल स्टार्कसँग मिलेर टोलीलाई जीतसम्म डोर्याए । स्टार्कले नटआउट रहँदै १६ रन बनाए भने कमिन्सले १४ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि जेराल्ड कोट्जी र ताब्रियाज साम्सीले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।