असोज २३, काठमाडौँ | दसैँ मान्नका लागि यो पटक राजधानी छाड्नेको संख्या २२ लाख भन्दा बढी छ । काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट सनिबारसम्ममा देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
दशैं मनाउने क्रममा गत बिहीबार, शुक्रबार र शनिबार उपत्यकाबाट बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रह्यो । सनिबार मात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए । दसैँलाई लक्षित गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
यसैबीच काठमाडौँ उपत्यकाको जानजीवन निकै शान्त बनेको छ । बिहानैदेखि चहल-पहल हुने काठमाडौँमा अब केहि दिनसम्म निकै नरमाइलो हुने स्थानीयहरुले बताउने गरेका छन् । उपत्यकाका आधाभन्दा बढीले काठमाडौँ छाडेपछी काठमाडौँ चकमन्न प्राय बन्ने गरेको छ । 'बिशेषगरि तीन दिनसम्म दशैंको महा अष्टमीदेखि टिकासम्म काठमाडौँको रुपनै अर्कै हुन्छ' काठमाडौँ बसपार्क स्थित स्थानीय बुद्धरत्न श्रेष्ठले साझा सबाललाई बताए ।
उनका अनुसार बर्षभर चहलपहलमा रहने काठमाडौँ दशैंको बेला निकै शान्त र अचम्म लाग्दो बन्छ । तर तिहार भने निकै रामाईलो हुन्छ ।
राजधानीबाट अधिकांश नागरिकहरु दशैं मान्न आ-आफ्नो घर फर्कने हुँदा दिनहुँ जाम रहने सडकहरुमा पनि फाट-फुटमात्र सवारी गुड्ने गर्छन् । उपत्यकाका अधिकांश घरहरुमा भाडामा बस्दै आएका नागरिकहरुले उपत्यका छाडेसँगै प्राय घरहरु खालीजस्तै देखिन्छन् । अब यो क्रम आज महाअष्टमीदेखि टिकासम्म न्यून रहन्छ । त्यसपछी लगत्तै उपत्यकाबाहिरका अधिकांश सहरी तथा गाउँका सडकहरु व्यस्त बन्छन् । तर दशैं सकिएसँगै पुर्णिमापछि केहि दिनमै उपत्यकाबाट बाहिरिएका आधाभन्दा बढी नागरिकहरु फेरी उपत्यकामै फर्कन्छन ।
दशैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी दशैं अवधिभर उपत्यकामा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि तीन रुटमा नेपाल प्रहरीले निःशुल्क बससेवा आजदेखि सञ्चालन गरेको छ ।
उक्त सेवाअन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्नेछ । यसैगरी, दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्नेछ ।
त्यस्तै, तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्नेछ ।