एजेन्सी | मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ।
यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आइतबार राति पिपुल्स जस्टिस पार्टी कंग्रेसलाई दिएको सम्बोधनमा उक्त घोषणा गरेका हुन्। तर, यो नियम कहिलेसम्म लागू हुन्छ, उनले खुलाएनन्।
सरकारी तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुनसम्म मलेसियामा ९० लाख १६ हजार पर्यटक आएका थिए, जसमध्ये झण्डै ४ लाख ९८ हजार चीन र २ लाख ८४ हजार भारत नागरिक थिए।
तर, महामारीअघि २०१९ को सोही अवधिमा चीनबाट १५ लाख र भारतबाट ३ लाख ५४ हजार मानिस मलेसिया गएका थिए।
अब मलेसियाले पर्यटकको संख्या बढाउन यो निर्णय गरेको हो। सोही वर्ष थाइल्यान्डले पनि पर्यटन प्रवर्द्धनका लागि भारत र चीनका नागरिकलाई भिसा फ्रि इन्ट्री सुरु गरेको थियो।