एजेन्सी | जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ अमेरिकी सैनिक सवार थिए । जापानी कोस्ट गार्डले बीबीसीलाई उद्धारकर्मीहरूले घटनास्थलमा एक व्यक्तिलाई फेला पारेको जानकारी दिएको छ ।
तर उनको श्वास भने चलेको थिएन । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उक्त विमानको अवशेष याकुशिमामा भेटिएको हुनसक्ने बताइएको छ ।
जापानको सरकारी मिडिया एनएचकेका अनुसार सीभी २२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेको बेला बायाँ इन्जिनमा आगो लागेको थियो । यो विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसका लागि उडेको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले स्थानीय समय अनुसार १४:४० बजे विमान राडारबाट हराएको बताए। यता कोस्ट गार्डले सात मिनेट पछि विमानबाट एक आपतकालीन सन्देश प्राप्त भएको बताउँदै लगत्तै विमान दुर्घटना भएको जानकारी दिएको छ ।