२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

७० वर्षे महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

१५ मंसिर २०८०, शुक्रबार ०९:४३

मङ्सिर १५, काठमाडौँ | यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ।

सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्। उनी पाको उमेरमा बच्चा जन्माउने महिलाहरूको सूचीमा परेकी छन्। स्थानीय सञ्चारमाध्यमलसँग कुरा गर्दै उनले "चमत्कार” भएको बताइन्।


उनलाई बधाई दिँदै अस्पतालले “यो चिकित्सकीय सफलताभन्दा पनि मानवीय भावना र चुनौती थेग्न सक्ने शक्तिको कुरा हो” भनेको छ।

“हामीले असाधारण उपलब्धि हासिल गरेका छौँ – अफ्रिकाकी ७० वर्षीया महिला जुम्ल्याहा बच्चाकी आमा बनेकी छन्,” विमिन्स् हस्पिटल इन्टरन्याश्नल एन्ड फर्टिलिटी सेन्टरले आफ्नो फेसबुक पेजमा लेखेको छ।

अस्पतालका अनुसार बुधवार मध्याह्न ती बच्चा जन्मिएका थिए। अस्पतालले “आमा र बच्चाहरू स्वस्थ रहेको” जनाएको छ।

नामुक्वायाले यूगान्डा डेली मोनिटर पत्रिकालाई गर्भमा जुम्ल्याहा बच्चा रहेको थाहा पाएपछि उनका पार्टनरले आफूलाई छोडेर गएको र गर्भावस्था निकै कठिन बनेको बताएकी छन्।

“पुरुषहरू महिलाले एकभन्दा बढी बच्चा गर्भमा रहेको कुरा मन पराउँदैनन्। म यहाँ भर्ना भएदेखि नै मेरा पार्टनर मलाई हेर्न एक पटक पनि आएका छैनन्,” उनले भनिन्।

बुढेसकालमा किन जन्माइन् बच्चा

नामुक्वायाले तीन वर्षमा दोस्रो पटक बच्चा जन्माएकी हुन्। सन् २००० मा उनले एक छोरी जन्माएकी थिइन्।

पहिला सन्तान नजन्माएकी भनेर आफूले होचोअर्घेलो खेप्नुपरेकाले आफूले फेरि बच्चा जन्माउने इच्छा गरेको उनले बताइन्।

“म अरू मानिसका बच्चा हुर्काउँथेँ, बच्चा हुर्किँदै जान्थे र म एक्लै पर्थेँ। म आफू बूढी भएपछि कसले मेरो रेखदेख गर्ला भन्ने चिन्तामा थिएँ,” उनलाई उद्धृत गर्दै भनिएको छ।

उनले आफ्नै डिम्ब सुरक्षित राखेर त्यही प्रयोग गरेकी हुन् वा दाताबाट प्राप्त डिम्ब प्रयोग गरेकी हुन् भन्ने स्पष्ट छैन। महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा रजोनिवृत्तिमा जान्छन्। त्यो अवधिमा उनीहरूको प्रजनन शक्ति घट्दै जान्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल