पुस ९, मुम्बई | नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा आठ जना नेपाली नागरिक पक्राउ परेका छन् ।
मुम्बई हुँदै कुवेत र यूएई जना लागेका उनीहरूलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको मुम्बई अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका थिए । पक्राउ पर्ने दुई महिलामा २२ वर्षीया माइली बोमजन र ३२ वर्षीया भगवती डांगीसहित ३० वर्षीय राजकुमार तामाङ, १९ वर्षीय रुपल खड्का, २० वर्षीय अरुण खड्का, १९ वर्षीय करण बोहरा, २० वर्षीय सुजन बोहरा र २८ वर्षीय दीपेश लामिछाने रहेका छन् । उनीहरूको श्रम स्वीकृतिमा नाम र मिति गल्ती पाइएपछि पुनः जाँच गर्दा नक्कली पाइएको प्रहरीको भनाई छ । उनीहरूलाई शनिबार पक्राउ गरिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।
अध्यागमनका अधिकारीहरूलाई शङ्का लागेर उनीहरूको दस्ताबेज जाँच गरिएको थियो । उनीहरूको साथमा रहेको दस्ताबेजबारे नेपालको श्रम मन्त्रालयसँग बुझ्दा त्यो नक्कली रहेको पुष्टि भएको साहर प्रहरी थानाका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार मन्त्रालयले ईमेलमार्फत ती दस्ताबेज नक्कली रहेको जवाफ पठाएको थियो ।
प्रहरीका अनुसार उनीहरू दलाललाई १५ लाख बुझाएर वैदेशिक रोजगारीका लागि यूएई जान लागेका थिए । आठ जनालाई भारतीय पेनल कोडको फरक–फरक धारामा ठगीको मामिलामा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।