पुस १०, काठमाडौं | लामो प्रतीक्षापछि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसलाको छेकोमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दाले सम्भवतः यसै साता किनारा पाउनसक्छ ।
धेरै पटक विभिन्न बहानामा सर्दै आएको फैसला सुनुवाइ आइतबार जिल्ला अदालतमा सुरु भएको थियो । न्यायाधीश ढकालले कुनै बहाना नखोजी सुनुवाइ थालेर मुद्दालाई हेर्दाहेर्दैमा राखे । यसको अर्थ अब दैनिक सुनुवाइ हुनेछ र ढकालले नै यो मुद्दाको फैसला गर्नेछन् ।
हिजो र भोलि सार्वजनिक बिदा भएकाले अदालत बन्द रह्यो । बुधबार सुनुवाइले निरन्तरता पाउनेछ । यसअघि नै दुवैतर्फका वकिलहरुले बहस नोट पेश गरिसकेको हुँदा बहस धेरै नलम्बिने अपेक्षा छ । यद्यपि, कानून व्यवसायीहरु धेरै भएकाले अझै कम्तीमा दुई दिन लाग्नसक्ने अदालत स्रोत बताउँछ ।
यो मुद्दाको फैसलामा जाहेरीकर्ता गौशाला २६ को उमेरलाई सबैभन्दा ‘निर्णायक’ ठानिएको छ । सन्दीपले गौशालामाथि जबरजस्ती सम्बन्ध राखेको कुनै पनि संकेत र प्रमाण नभेटिएको हुँदा उमेर नै प्रधान बन्न गएको हो । कानूनतः यदि जाहेरीकर्ता नाबालिग (१८ वर्षभन्दा कम) भएमा राजीखुशीले राखेको सम्बन्ध पनि बलात्कार ठहरिन सक्छ ।
वादी पक्षका वकिलले सन्दीपसँग भेट हुँदा गौशाला २६ उमेरले नाबालिग रहेको दाबी गरिरहेका छन् । प्रतिवादी पक्षले भने त्यसबेला उनको उमेर १८ कटिसकेको जिकिर गरेका छन् । दुवै पक्षले आआफ्नो दाबीलाई सहयोग पुग्ने कागजातहरु अदालतमा पेश गरेका छन् । सबै कागजात हेर्दा गौशालाका चार वटा फरक फरक जन्ममिति भेटिन्छन् ।
वादी पक्षको दाबीअनुसार गौशालाको जन्ममिति २०६२/०३/१८ हो । उनीहरुले यो जन्ममिति उल्लेख भएका तीन वटा डकुमेन्ट पेश गरेका छन् । ती डकुमेन्टमा गौशाला २६ ले दोस्रो पटक निकालेको जन्मदर्ताको प्रतिलिपि, नागरिकता र एसईईको प्रमाणपत्र छन् । यी तीन वटा डकुमेन्टमा जन्ममिति २०६२/०३/१८ लेखिएको छ । यसअनुसार गौशालाको उमेर सन्दीपलाई भेट्दा १७ वर्षमात्र थियो ।
यता प्रतिवादी पक्षले ११ वटा कागजात पेश गरेका छन्, जसमा गौशालाको जन्ममिति २०६१ साल उल्लेख छ । गौशाला जन्मेको नारायणी अस्पताल वीरगञ्जको रेकर्डमा जन्ममिति २०६१/०२/१८ लेखिएको छ । त्यसपछि उनले नुवाकोटको एउटा वडाबाट पहिलो जन्मदर्ता निकालेकी थिइन् । अस्पतालको रेकर्ड र पहिलो जन्मदर्तामा एक महिना फरक देखिन्छ । जन्मदर्तामा गौशालाको जन्ममिति लेखिएको छ, २०६१/०३/१८ । यही जन्ममिति अधिकांश डकुमेन्टमा छन् ।
काठमाडौंको शंकरापुरबाट गौशालाको परिवार नुवाकोट बसाइ सरेको थियो । बसाइसराइका लागि भरेको फारम र वडाको रेकर्डमा जन्ममिति २०६१/०३/१८ उल्लेख छ । यही जन्ममितिलाई प्रमाणीकरण गरेर वडा कार्यालयले अदालतलाई पत्रसमेत पठाएको थियो । त्यसअघि गौशालाको परिवारले शंकरापुरबाट लिएको बसाइसराइको पत्रमा पनि यही मिति उल्लेख छ । यही जन्ममितिलाई अदालतले सदर गर्यो भने सन्दीपले मुद्दामा सफाइ पाउन सक्नेछन् ।
यता, गौशालाको चौंथो जन्ममिति पनि भेटिएको छ शंकरापुरमा । त्यहाँको ढड्डामा जन्ममिति सच्याएर २०६३ साल बनाएको पाइएको हो । कतिलाई सच्याएर २०६३ बनाइएको हो भन्ने स्पष्ट खुल्दैन । त्यस पालिकाको कम्प्युटर रेकर्डमा पनि २०६३/०३/१८ उल्लेख छ । तर, जन्ममिति २०६३ साल भनेर गौशालाका वकिलहरुले पनि दाबी गरेका छैनन् । शंकरापुरको रेकर्डमा जन्ममिति कहिले र किन सच्याइएको हो भन्ने पनि स्पष्ट भएको छैन ।
उमेरसम्बन्धी कागजातहरु विवादित भएको खण्डमा न्यायाधीशले सबैभन्दा पुरानो कागजलाई आधिकारिकता दिने प्रचलन छ । बालिबालिकासम्बन्धी ऐन २०७५ ले यो विषयलाई सम्बोधन गरेको छ । सो ऐनले उमेरको छिनोफानो गर्न पाँच वटा कागजातलाई आधार बनाएको छ, जसमा नागरिकता पर्दैन ।
ऐनअनुसार सबैभन्दा पहिले अस्पतालबाट जारी भएको बालबालिकाको जन्मदर्तामा उल्लेखित जन्ममिति हेरिन्छ । उक्त जन्मदर्ता नभएमा स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिलाई आधार बनाइन्छ । यो पनि नभएको खण्डमा विद्यालयको चारित्रिक प्रमाणपत्र वा विद्यालय भर्ना हुँदाको बखत उल्लेख गरिएको जन्ममिति हेर्नुपर्छ ।
त्यो पनि नभए अस्पतालबाट प्रमाणित उमेरसम्बन्धी कागजात र त्यो पनि नभए जन्मकुण्डली, चिना टिपोट, बाबुआमाले खुलाइदिएको उमेर आदि प्रमाण हेरिन्छ । यो ऐनले व्यक्तिको नागरिकतालाई भने कुनै महत्व दिएको छैन । ऐनले उल्लेख गरेका पाँच वटा आधार हेर्दा गौशाला २६ नाबालिग रहेको दाबी कमजोर हुने देखिन्छ ।