एजेन्सी | जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन् ।
जापानको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उनले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।
भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्वपूर्ण रहने तथा त्यस पछि बाँच्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन् । प्रभावित तटीय सहर वाजिमामा धेरै मानिस अझै पनि भग्नावशेषमा फसेको विश्वास गरिएको छ । वाजिमामा हालसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको जापानको समाचार संस्था क्योदोले जनाएको छ ।
रिपोर्टअनुसार वाजिमाको तटमा विपद् सफाइ कार्यको लागि एउटा जहाज खटाइएको छ । भग्नावशेष र अवरूद्ध सडकहरूका कारण खोजी तथा उद्धार कार्यमा चुनौती थपिएको छ । शक्तिशाली भूकम्पको तीन दिनपछि इशिकावा र वरपरका क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो ।
भूकम्पपछि सुनामीले इशिकावाको सय हेक्टर क्षेत्र डुबानमा परेको र बाढीको प्रभाव अझ ठूलो हुने भूमि मन्त्रालयले जनाएको छ ।
इशिकावाको नोटो क्षेत्रमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पलाई जापान मौसम विज्ञानसम्बन्धी निकायले आधिकारिक रूपमा नोटो प्रायद्वीप भूकम्प २०२४ नाम दिएको छ ।