१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाम-२ उपनिर्वाचन : माओवादीले कांग्रेससँग गठबन्धन नगर्ने

१३ फाल्गुन २०८०, आईतवार १२:१५

फागुन १३, काठमाडौँ  | संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । जनताको स्तरमा निर्वाचन माहौल नआइसके पनि पार्टीहरूको आन्तरिक, भेला, बैठक र छलफलमा चुनावी माहौल देखिएको त्यहाँका नेताहरू नै बताउँछन् ।

यसैबिच निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम-२ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।


तुलनात्मक रूपमा प्रतिस्पर्धामा रहेका एमाले र कांग्रेसका आन्तरिक कमिटीहरू चुनाव लक्षित सांगठनिक तयारीमा जुटेका छन् । माओवादी केन्द्रले उम्मेदवार छनौटका लागि छलफल आयोजना गर्दैछ भने नयाँ दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सो निर्वाचन क्षेत्रमा आफ्नो मतको अवस्था के होला भनेर अध्ययन गरिसकेको छ । पहिचानवादीहरू पनि यसपटक एकताबद्ध भएर जाने गरी लागेका छन् ।

नेम्वाङ रहँदासम्म एमालेले सो क्षेत्रबाट निरन्तर विजय हासिल गर्दै आएको थियो । कांग्रेस भने नेम्वाङसँग सधैँ पराजित हुँदै आएको छ । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका कुलबहादुर गुरुङ एमालेका नेम्वाङसँगै पराजित बने । २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसकै केशव थापा, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालीन महासमिति सदस्य भेषराज आचार्य पनि नेम्वाङसँग पराजित भए । २०७४ सालमा फेरि उनै आचार्यलाई पराजित गरेका नेम्वाङले ०७९ सालको निर्वाचनमा कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई पराजित गरे ।

नेम्वाङको बलमा निरन्तर विजयको झण्डा फहराइरहेको एमालेले वैशाखमा हुनसक्ने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउँछ भन्ने चर्चा छ । एमाले स्रोतका अनुसार उक्त निर्वाचन क्षेत्रमा नेम्वाङका छोरा सुहाङ नेम्वाङ उम्मेदवार बन्न सक्ने सम्भावना बढी छ । सुहाङले सार्वजनिक कार्यक्रमहरूमा जिल्लाको विकास, जनसेवाको काममा लाग्ने बताउने गरेका छन् । त्यसका लागि जनताले सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

यस्तै एमालेबाट स्थायी समिति सदस्यसमेत रहेकी पूर्वमन्त्री शिवमाया तुम्वाहाङ्फे, स्थानीय एमाले नेताहरू उदय राई, उमेश गुरुङ, बुद्धि खनाल, रवीन्द्र सुवेदीलगायत पनि एमालेबाट उम्मेदवार बन्ने होडमा छन् । एमालेको दह्रो आधार क्षेत्र रहेको उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न आकाङ्क्षा राख्नेको ताँती नै रहेको स्थानीय बताउँछन् । ‘पार्टीले योग्य पात्र हो भनेर भन्यो भने उठ्ने हो । तर, अहिले आफैँ म आकाङ्क्षी हो भनेको अवस्था छैन,’ एमालेका क्षेत्रीय अध्यक्षसमेत रहेका नेता बुद्धि खनालले भने । खनाल यसअघि सुवास नेम्वाङका स्वकीय सचिव पनि भएका थिए ।

उता, कांग्रेस भने पटकपटक एमालेको उम्मेदवारबाट पराजित हुनुपरेको पीडालाई भुल्ने तयारीमा छ । कांग्रेसबाट यस पटक उम्मेदवार बन्ने सम्भावना रहेका नेता उनै डम्बरबहादुर खड्का हुन् । कांग्रेस इलामका सभापति समेत रहेका खड्का ०७९ को निर्वाचनमा नेम्वाङसँग थोरै मतले हारेका थिए । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । उक्त निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारद्वय नेम्वाङ र खड्काबाहेक अन्य उम्मेदवार प्रतिस्पर्धाको नजिक पनि आउन सकेनन् ।

यसपटक पनि कांग्रेसबाट उनै खड्काको बढी सम्भावना रहेको स्रोत बताउँछ ।  यद्यपि केशव थापा र भेषराज आचार्यले पनि उम्मेदवार बन्ने आकाङ्क्षा राखेको स्थानीय सुनाउँछन् । आचार्य कांग्रेस नेता डा. शेखर कोइराला खेमाका हुन् ।

२०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीबिच गठबन्धन भएको थियो । यस पटक भने गठबन्धन नगर्ने माओवादीले जनाएको छ ।

‘हामीले अध्यक्ष प्रचण्डलाई गठबन्धन नगर्ने भनेका छौँ । जति हुन्छ, हाम्रो मत सुरक्षित गर्दै बढाउँछौँ । जित–हार त्यस्तै हो,’ माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले भने, ‘एक पटक परीक्षणमा जाऔँ भनेका छौँ । त्यसका लागि हामीले इलाममै बैठक बोलाउने तयारी गरेका छौँ ।’

पुरानो र नयाँ अनुहारमध्ये मिलाएर उम्मेदवार उठाउने उनको भनाइ छ । ‘निर्वाचन वैशाखको मध्यतिर हुने सुनेका छौँ । हामी राम्रो मेहनत गरेर एक्लै निर्वाचनमा जान्छौँ,’ उनले भने ।

गठबन्धन नहुने हो भने इलाम–२ मा कांग्रेस उम्मेदवारले जित निकाल्न गाह्रो हुने देखिन्छ ।

उता, नयाँ पार्टीको रूपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावको भित्री तयारी गरिरहेको छ । ‘आन्तरिक रूपमा हामी निर्वाचन क्षेत्रको बारेमा अध्ययन गरिरहेका छौँ । पार्टीको संरचनाले पनि झापा, इलामका साथीहरूले परिस्थिति अध्ययन गरिरहनु भएको छ,’ रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले भने, ‘सम्भावित उम्मेदवारको सूची पनि आन्तरिक रूपमा बनाएका छौँ । तर, चुनाव लक्षित कार्यक्रम भने गरेका छैनौँ ।’

उनले मत अध्ययन गर्दा रास्वपाले जित्ने अवस्था देखिएको दाबी गरे । ‘जनताले हामीसँग एकदमै आशा गरेको देखिएको छ । उम्मेदवार को हुने भन्ने कुरामा बढी चासो लिइरहनु भएको छ । हाम्रो उम्मेदवारको कम्बिनेसन मिलाउन सकेको खण्डमा हामी चुनाव जित्छौँ,’ उनले भने, ‘स्थानीयस्तरबाटै राष्ट्रिय रूपमा सामाजिक प्रतिष्ठा कमाएको व्यक्ति उठाउनु पर्छ भन्ने सुझाव हामीले प्राप्त गरेका छौँ । तर, अहिले नै ठ्याक्कै को उठाउने भन्ने निर्क्योल भएको छैन । हामी इलामका जनताले गर्व गर्ने गरी उम्मेदवार उठाउँछौँ ।’

उता, पहिचानवादीले पनि यस पटक एकताबद्ध भएर साझा उम्मेदवार उठाउने तयारी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार पहिचानवादीहरुको तर्फबाट १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, केबी पालुङ्वा र लिम्बुवानका नेता कुमार लिङ्देनमध्ये एक जना उम्मेदवार हुने तयारी छ । ‘हामीले डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, केबी पालुङ्वा र कुमार लिङ्देनमध्ये उठाउने हो । उहाँहरूभन्दा उपयुक्त पात्र अर्को भेटियो भने विकल्पमा पनि जान सकिन्छ,’ पहिचानवादी एक नेताले भने ।

उता, आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूले भने आफू स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रने बताएका छन् । आफूलाई पहिचानवादीहरुले पनि सहयोग गर्ने उनको दाबी छ ।

‘एमालेमा सुहाङलाई टिकट दिँदा विद्रोह हुने अवस्थामा छ । कांग्रेस–माओवादीले गठबन्धन गरे पनि माओवादीले कांग्रेसलाई भोट हाल्दैनन्,’ उनले भने, ‘यहाँ स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने देख्छु ।’

लिम्बूले कोशी प्रदेशमा पहिचानको आन्दोलन बढ्दै गएको सन्दर्भमा कांग्रेस र एमालेको उम्मेदवारभन्दा आफूले स्वतन्त्र उम्मेदवारी दिँदा जनताको सहानुभूति पाउन सक्ने दाबी पनि गरे । ‘

उता, एमालेबाट सुहाङ उम्मेदवार बनेको अवस्थामा वंश परम्पराको आरोप लाग्नेछ । लामो समयमा त्याग र योगदान गरेर बसेका एमालेका स्थानीय नेताहरुले कति सहयोग गर्छन् भन्ने कुरा पनि निर्णायक हुने देखिन्छ । सुहाङ एमालेको पार्टी सदस्यसमेत नभएको भनेर आलोचना हुने गरेको छ । यद्यपि सुहाङ कमजोर उम्मेदवार भने होइनन् ।

इलामको २ नम्बर निर्वाचन क्षेत्र पहिचानको आन्दोलनमा होमिनेहरूको प्रभाव क्षेत्र पनि हो । पहिचानवादीको आन्दोलनको अवस्था हेर्दा चाहिँ यसपटक कांग्रेस–एमालेलाई गाह्रो पर्ने देखिन्छ । तर, भोटको समयमा उनीहरूले के गर्छन् ? त्यो भने हेर्न बाँकी छ । यदि पहिचानवादीहरू एकताबद्ध भएको अवस्थामा चुनावी परिणामले धेरै बदलाव ल्याउन सक्ने स्थानीयहरू बताउँछन् ।

पूर्वी पहाडी जिल्ला एमालेको गढ मानिन्छ । इलाम पनि त्यहीमध्येको एउटा जिल्ला हो । कृषि उत्पादनको उर्वर, सुन्दर र पर्यटकीय जिल्ला इलाम एमालेको गढ हुनुमा नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि प्रमुख पात्र हुन् । नेम्वाङको मृत्यु लगत्तै पुनः गठबन्धनबाट खनाल उम्मेदवार हुने हल्ला पनि चलेको थियो । तर, अहिले त्यो चर्चा सेलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ