चैत ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई वटा खेल खेलिँदै छ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
यसैगरी आइतबारको दोस्रो खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच हुनेछ । जारी आईपीएलमा गुजरात र मुम्बईको यो पहिलो खेल हो । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको इतिहासमा मुम्बई सर्वाधिक सफल टोली हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईले पाँचवटै उपाधि रोहित शर्माको कप्तानीमा जितेको थियो । तर, यसपटक मुम्बई सर्वाधिक सफल कप्तान शर्माको कप्तानीमा मैदानमा ओर्लने छैन ।
अर्कोतिर, गुजरात टाइटन्सले हालसम्म एकपटक मात्र आईपीएलको उपाधि पनि चुम्न सकेको छ । गुजरात टाइटन्स हालसम्म दुई पटक फाइनलमा पुगेको छ । एकपटक भने गुजरात टाइटन्स फाइनलमा पराजित भएको छ ।
यसपटक मुम्बई र गुजरात दुवै नयाँ कप्तानको नेतृत्वमा मैदानमा ओर्लने छन् । यसपटक मुम्बईको कप्तानी हार्दिक पाण्ड्याले गर्नेछन् । गुजरातको कप्तानी भने यसपटक शुभमन गिलले गर्नेछन् । गिलले आईपीएलमा पहिलो पटक कुनै पनि टोलीको कप्तानको जिम्मेबारी पाएका हुन् ।
यसअघि हार्दिक पाण्ड्या गुजरातबाट खेल्थे । उनकै कप्तानीमा गुजरातले दुई पटक फाइनल खेलेको थियो । हार्दिकको कप्तानीमा गुजरात सन् २०२२ मा च्याम्पियन बनेको थियो । सन् २०२३ मा भने गुजरात उपविजेतामा समेटिएको थियो ।
आईपीएलमा हालसम्म मुम्बई र गुजरातबिच कुल चार खेल खेलिएको छ । त्यसमा मुम्बई र गुजराज दुबैले दुई–दुई खेल जितेका छन् । अहमादाबादमा यसअघि गुजरात र मुम्बईबिच दुई खेल खेलिएको छ । ती दुवै खेलमा मुम्बई पराजित भएको छ । समग्रमा हालसम्म आफ्नो घरेलु मैदानमा खेलिएको १० मध्ये ६ खेलमा गुजरात विजयी भएको छ ।
सम्भावित टोली
मुम्बई इन्डिन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), तिलक वर्मा, नेहाल वाधेरा, टिम डेभिड, मोहम्मद नाबी वा रोमारियो शेफर्ड, पियुष चावला, जेराल्ड कोट्जी, जसप्रित बुमराह र नुवान थुषरा ।
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान शाह, साई सुदर्शन, अजमतुल्लाह ओमरजाई, डेभिड मिलर, शाहरुख खान, राहुल तेवातिया, राशिद खान, उमेश यादव, मोहित शर्मा र स्पेन्सर जानसन ।