वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार अन्तर्गत दैनिक पत्रिकाहरुमा आउने अधिकांश बिज्ञापनबारे चासो राख्ने लक्षित कामदारहरुले अधिकांश म्यानपावरले भ्रामक बिज्ञापन दिईरहेको गुनाशो गरेका छन् । अधिकांश म्यानपावरहरुले सरकारी प्रक्रिया पुरा गर्न मात्र राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन दिने गरेको पाइएको हो ।
लामो समयदेखि सिमित म्यानपावरहरुले मात्र कामदार छनौटको लागि सिधा कामदारलाई आफ्नो म्यानपावरमा छिर्न दिने गरेको अवस्थामा वैदेशिक रोजगारमा पठाउने क्रममा अधिकांश म्यानपावरहरुले एजेन्टलाईनै मुख्य प्राथमिकता दिईरहेको गुनाशो बढेको छ । सरकारले वैदेशिक रोजगारमा जान फ्री भिसा-फ्री टिकट लागु गरेपछि यो समस्या बढ्दै गएको हो । सरकारको नीति बिपरित आर्थिक अशुली गर्न सहज बनाउने उद्देश्यले अधिकांश म्यानपावरहरुले सिधा कामदारलाई स्वीकार नगरेको वर्तमान अवस्था छ । यस विषयमा सम्बन्धित पक्ष समेत जानाकार छ तर मौन छ ।
सरकारी नीति अनुसार म्यानपावरहरुले वैदेशिक रोजगारमा पठाउनु अघि प्रक्रियागत रुपमा अनिवार्य नेपालको 'क' बर्गको राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन छाप्नुपर्ने नियम छ । यो नियमलाई अधिकांश अवैधानिक काम गर्न पल्किएका व्यवसायीहरुले मानिरहेका छैनन् । बाध्यताले बिज्ञापन छापिहाले पनि बिज्ञापन हेरेर सम्पर्कमा जाने कामदारहरुलाई बिज्ञापननै छैन भन्दै फिर्ता गर्ने गरेको र फोन मार्फत जानकारी माग्दा समेत बिज्ञापन नभएको जानकारी दिएर भ्रमको खेति गरिरहेका छन् । प्राप्त गुनाशो अनुसार दैनिक आउने म्यानपावरका सयौं बिज्ञापन अनुसार छड्के बुझ्ने हो भने आधाभन्दा बढी म्यानपावरले बिज्ञापन छैन भन्ने प्रक्रिया पुरा गर्न मात्र छापिएको हो भन्दै पन्छिने समस्या छ ।
अन्तर्वार्ताको मितिनै उल्लेख गरेर ठूला-ठूला अवसरका बिज्ञापन देखेर उक्त मिति अगावै फोन गर्ने तथा म्यानपावरमै पुग्ने लक्षित बर्गले अनावश्यक सास्ती मात्र पाइरहेका छन् । म्यानपावरहरुले अधिकांश राम्रा कम्पनीमा आफ्ना मान्छे र एजेन्टका मान्छे मात्र भर्ति गरिसकेर प्रक्रियाको लागि मात्र बिज्ञापन गर्ने गरेको गुनाशो छ । त्यसो त कुन-कुन म्यानपावरले त्यस्ता भ्रमको खेति गर्छन् भन्ने सम्बन्धमा वैदेशिक रोजगार बिभागले कुनै अनुगमन वा कारवाही गरेको अभिलेख छैन । यस खाले प्रवृतिको कारण वैदेशिक रोजगारको अवसर भन्दै आउने अधिकांश म्यानपावर कम्पनीका बिज्ञापनले जनमानशमा भ्रम छरिरहेको र दु:ख दिईरहेको छ ।