जेठ १, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।
दिनभरिको सुनवाइपछि बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ ।
न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।
न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन ।
सरकारका तर्फबाट रत्नकेशरी महर्जन र उप-न्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस थालेका थिए ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूको थियो ।
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।