जेठ २५, काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बैठकमा एनडीएका सबै २९३ लोकसभा सांसद, राज्यसभा सांसदहरू र सबै राज्यका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए । रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीका लागि नरेन्द्र मोदीको नाम प्रस्ताव गरेका थिए भने अमित शाहले समर्थन र नितिन गडकरीले अनुमोदन गरेका थिए । त्यस्तै जेडीएस अध्यक्ष कुमारस्वामीले प्रस्तावलाई समर्थन गरेका थिए ।
एनडीएको बैठक सकिएपछि गठबन्धनका नेताहरूले आजै सरकार गठनको दाबी गर्ने छन् । मोदीले जुन ९ मा साँझ ६ बजे राष्ट्रपति भवनमा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बताइएको छ ।