असार ५, धनगढी । अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए।
गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिए।
गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा आजबाट थप तीन दिन बिदा दिइएको छ। धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी असार ७ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ। गर्मी बढेपछि यसअघि गत जेठ महिनामा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो।