असार १२, काठमाडौँ । प्रतिकूल मौसमका कारण भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ ।
योजना आयोगका अनुसार जहाजमा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित आयोग टोली थियो । बुद्ध एयरको ‘यू४–८५१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेको थिएन ।
जहाज अवतरण गर्न नसकी काठमाडौं फर्किंदा जहाजभित्र रुवाबासी चलेको योजना आयोग उपाध्यक्षको सचिवालयले उल्लेख गरेको छ ।
आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनमा बुटवल जाँदै थियो । यो टोलीको आगामी शुक्रबार मात्र काठमाडौं फर्किने योजना थियो ।
जहाज बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं नै फिर्ता भएको हो ।
‘प्रतिकूल मौसमका कारण जहाज डाइभर्ट गर्नुपरेको हो,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने, ‘उक्त उडानलाई मध्याह्न १२ बजे पुनः भैरहवा अवतरण गराइसकिएको छ ।’
आजै प्रतिकूल मौसमका कारण यती एयरलाइन्सको जहाज समेत भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता भएको थियो ।