३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डिभोर्स गर्दै थिइन्, प्रहरीलाई ‘अब पतिसँग बस्न सक्दिनँ’ भनेकै दिन मारिइन्

२७ भाद्र २०८१, बिहीबार ०७:३५

भदौ २७, काठमाडौँ । पोखरामा श्रीमान्‌को खुकुरी प्रहारबाट मारिएकी ४० वर्षीया राधिका कुँवरले त्यसअघि सम्बन्ध विच्छेदका लागि कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको तथा घटनाकै दिन बुधबार बिहान मात्र पतिको ज्यादतीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मौखिक उजुरी गरेको खुलेको छ।

वैदेशिक रोजगारीबाट फर्केका श्रीमान्‌  ४२ वर्षीय जहरसिंह कुँवरले दिनहुँ सानो निहुँमा पनि कुटपिट गर्न थालेपछि राधिकाले सम्बन्ध विच्छेदका लागि गत असारमै  अदालतमा मुद्दा दर्ता गराएकी थिइन्। तर, मुद्दा विचाराधीन अवस्थामै रहेका बेला जहरसिंहले बुधबार खुकुरीले हानेर पत्नी हत्या गरेका हुन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ नौडाँडा घर भई कुँवरटोल बस्ने गरेका जहरसिंहले बुधबार दिउँसो श्रीमती राधिकाको घाँटी र पेटमा खुकुरी हानी हत्या गरेका हुन्। उनलाई बुधबारै प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 

कास्की प्रहरी प्रमुख, एसपी मोहनकुमार थापाका अनुसार राधिकाले यसअघि पनि मौखिक रूपमा जहरसिंहविरुद्ध तीनपटकसम्म जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको पनि पत्ता लागेको छ ।

‘बुधबारै (हत्याकै दिन) पनि राधिका जिल्ला प्रहरी कार्यालय कास्कीमा आएकी रहिछन्। मेरो श्रीमान्‌सँग बस्न सक्दिनँ। मेरो सरसामान श्रीमान्‌ले दियो भने म अन्यत्र गएर बस्छु भनेको अवस्था रहेछ र बिहान हाम्रो अफिस पनि राम्रोसँग नखुल्दै आएको भन्ने बुझिएको छ। तिनै महिला हुन् या अर्को महिला हो त्यो हामी बुझ्दै छौँ’, एसपी थापाले भने,‘हामीले थप अनुसन्धान गर्दा यिनीहरूको डिभोर्सको मुद्दा जिल्ला अदालतमा अहिले विचाराधीन अवस्थामा रहेछ र श्रीमान् जहरसिंह लामो समय कतारमा बसेको रहेछ। अहिले डिप्रेसनको औषधि खाने र बेरोजगार रहेको पायौँ। श्रीमतीको आफ्नै पेसा/व्यवसाय रहेछ। उनीहरूबीच लामो समयदेखि आन्तरिक विवाद पनि देखियो र त्यो घरमा मात्रै सीमित नभई प्रहरीसम्म आइपुगेको रहेछ।’


अन्य मुद्दा नहाल्ने र सम्बन्ध विच्छेदकै प्रक्रिया अगाडि बढाउने राधिकाकै चाहनाले कारबाही प्रक्रिया अगाडि नबढाइएको पनि उनले बताए।

‘मौखिक रूपमा महिलाले घरेलु हिंसाविरुद्ध उजुरी गरेको र प्रहरीले मौखिक रूपमै श्रीमान्‌लाई बोलाएको देखिएको छ’, उनले भने,‘बुधबार बिहान पनि घटनाबारे राम्रोसँग सोधखोज गर्न नपाएको र महिला आफ्नो कुरा सुनाएर बाहिर निस्केको पाइएको छ।’

प्रहरीले जहरसिंहविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गर्न सुझाव दिँदा राधिकाले ‘सम्बन्ध विच्छेद गर्छु, मुद्दा हाल्दिनँ’ भनेको एसपी थापाको दाबी छ। 

तर, पुरुषले अदालतको आदेश नआउँदासम्म सँगै बस्ने भन्दै राधिका छाड्न नमानेको छिमेकीको भनाइ छ।

त्यही कारण राधिका मुद्दा दर्ता गरे पनि बाध्य भएर जवरसिंहसँग बसिरहेकी थिइन्। छिमेकीका अनुसार उनीहरूबीच दैनिक झगडा हुन्थ्यो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राधिका निस्केपछि केही गर्ने अवस्था थिएन। उनी निस्किको करिब तीन घण्टापछि प्रहरी कार्यालयमा फोन आयो। उताबाट पोखरा ८ कुँवरटोलमा ‘श्रीमान्‌ले श्रीमतीको हत्या गरेको जस्तै छ’ भनियो। प्रहरी तत्काल घटनास्थल पुग्यो।

कोठाको कुनामा एक महिला रक्ताम्य र अचेत अवस्थामा थिइन्। अर्को कोठामा चाहिँ एक पुरुष लोबेड (सानो खाट) मा बसेर मोबाइल चलाइरहेका थिए। अचेत भएकी महिला तिनै राधिका थिइन्। जहरसिंहकै खुकुरी प्रहारबाट राधिकाको ज्यान गएको स्थानीयले बताए।

‘श्रीमतीलाई कुनामा लगेर हिर्काउँदै रहेछ। मेरो श्रीमान्‌ले छुट्याउन जाँदा नसकेर आउनुभयो। बूढीले डिभोर्स माग्ने गरेको थियो तर बूढाले मानेको थिएन। त्यस्तै कुरामा झगडा हुँदै आएको थियो’, स्थानीय एक महिलाले भनिन्, ‘बिहान भेटे बिहानै, बेलुका भेटे बेलुकै झगडा हुन्थ्यो। म त डराएर बाहिर आएँ । भित्र जानै सक्ने स्थिति थिएन ।’

उनका अनुसार खुकुरी प्रहारबाट राधिकाको घाँटी झण्डै छिनिएको अवस्थामा थियो। 

‘पेटमा पनि ठूलो चोट थियो। कोठामा रगतको आहाल छ’, ती छिमेकीले भनिन्।

जहरसिंह लामो वैदेशिक रोजगारपछि ‘डिप्रेसन’ बोकेर नेपाल फर्केका थिए। पछिल्लोपटक चाहिँ उनी एक वर्षमै वैदेशिक रोजागारीबाट फर्केका थिए। नियमित डिप्रेसनको औषधि सेवन गर्ने जहरसिंहले तीन/चार दिनदेखि औषधिसमेत नखाएको प्रहरीको प्रारम्भिक सोधपुछबाट खुलेको छ।

‘मुख्य कारण भनेको वैदेशिक रोजगार र नेपाल आएपछि बेरोजगार भएको कारणले निम्त्याएको समस्या हो भन्ने हाम्रो अहिलेसम्मको अनुसन्धानबाट खुलेको तथ्य छ। थप अनुसन्धान गर्दैछौं’, एसपी थापाले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो